गर्भपतन सेवा प्रभावकारी बन्दै

डडेल्धुरा, २५ पुस । नेपाल सरकारले १२ हप्तासम्मको गर्भपतनलाई कानूनी मान्यता दिएको छ । तर त्यसको सहज उपलब्धता नहुँदा गाउँघरका महिलाहरूले परम्परागत तरिकाले ज्यान जोखिममा राख्दै गर्भपतन गर्ने गरेका थुप्रै उदाहरण सुन्न र देख्न सकिन्छन् ।

डडेल्धुराको गन्यापधुरा–२ की धौली कार्कीको अनिच्छित गर्भ बस्यो । उनले गर्भ फाल्न चाहिन् । गाउँमा गर्भपतन सेवा थिएन । गर्भपतन गर्न जिल्ला अस्पताल जानुपर्दथ्यो । दिनभर हिडेर जिल्ला अस्पताल जान उनलाई सम्भव थिएन । त्यसैले पेटको गर्भ फाल्ने बारे पुराना महिलाहरूको अनुभव सुनेकी उनले दुई माना चुक ९अमिलो० एकै साथ खाइन् । सकिनसकी गह्रुंगो भारी बोकिन । तर पनि गर्भ खसेन । त्यसपछि उनले बाध्य भएर पाँच हजार पैसा तिरेर एउटा नीजि क्लीनीकमा गर्भ खसाइन् ।

बच्चाको रहर पुगिसकेकाले गर्भपतन गर्न चाहेको तर गाउँमा त्यो सेवा नहुँदा आफूले दुख पाएको उनको भनाइ छ । अब त गाउँठाउँमै यो सेवा पाउने भएपछि गर्भपतन गराउन चाहाने महिला दिदी बहिनीहरूले सहजै सेवा लिइरहेको उनी बताउछिन् ।

गर्भपतन सेवा प्रभावकारी बन्दै

जिल्लामा पछिल्लो समय गर्भपतन सेवा प्रभावकारी बन्दै गइरहेको छ । जिल्लामा रहेका स्वास्थ्य संस्थाहरूमा नेपाल सरकारले सुरक्षित गर्भपतन सेवा निःशुल्क गराएपछि यो सेवा प्रभावकारी बनेको हो ।

२०७३ साल मंसिरदेखि निःशुल्क गर्भपतन सेवा लागु गरे पश्चात सेवा प्रभावकारी बनेको सेवा प्रदायकहरूको भनाइ छ । यस आर्थिक वर्षमा मात्रै परशुराम नगरपालिका ६ साँदनीमा रहेको साँदनी स्वास्थ्य चौकीबाट ५० जनाले गर्भपतन सेवा लिएको सुरक्षित गर्भपतन सेवा प्रदायक माया अवस्थीले जानकारी दिइन् ।

त्यस्तै देवल दिव्यपुर स्वास्थ्य संस्थामा असार यता २४ जनाले सुरक्षित गर्भपतन सेवा लिएको सेवा प्रदायक बागमती कठायतले बताईन् । अन्य स्वास्थ्य संस्थाहरूमा पनि यो सेवा प्रभावकारी बन्दै गएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

पहिले महिलाहरू गाउँमा गर्भपतन सेवा लिन लाज मानेर टाढा जाने गरेको तर अहिले निर्धक्क भएर सेवा लिन आउने गरेको नवदुर्गा स्वास्थ्य चौकीका अहेव तारा भट्टले जानकारी दिए ।

पहिले ग्रामीण भेगका महिलाहरू गर्भपतन सेवा निःशुल्क छ भन्ने थाहा नहुँदा महंगो पैसा तिरेर नीजि क्लिनिक र मेडिकल जान बाध्य थिए । सेवामा पहुँच पुगाउन सामुदायिक संवाद बैठकले अझ सहयोग गरेको आमा समुहकी अध्यक्ष भागरती धामीले बताईन ।

बैठकबाट जिल्लाका १२ वटा स्वास्थ्य संस्थाले निःशुल्क गर्भपतन सेवा दिंदै आएको कुरा थाहा पाएको धामीले बताइन् । त्यस्तै ९ हप्तासम्मको गर्भपतन गाउँकै स्वास्थ्य संस्थामा हुने र १२ हप्तासम्मको जिल्ला अस्पताल र जोगवुढा अस्पतालबाट दिइने भएपछि सेवाग्राही लाभान्वित भएको उनले बताइन्