चिसोले ४४ जनाको मृत्यु, जाडो अझै बढ्ने

कैलाली, २३ पुस । कैलाली जिल्लामा शित लहरसंगै अत्याधिक जाडो बढेको छ । चिसो बढेसंगै सेती अञ्चल अस्पतालमा मुटुरोगको उपचारकोलागि दैनिक ठूलो संख्यामा विरामीहरु आउने गरेका छन् । कैलालीमा पुस १ देखि २० दिनको अवधिमा सेति अञ्चल अस्पतालमा ९ जना हृदयघाटका कारण मृत्यू भएको इर्मेजेन्सी शाखा इन्चार्ज कृष्णा बोहराले जानकारी दिए ।

काठमाडौँमा पनि चिसो बढेपछि तापक्रम शून्य डिग्री पुगेको मौसमविदले जनाएको छ । जनकपुरदेखि नेपालगञ्ज आसपासका तराईमा दिनभर हुस्सु र राति शीतलहर परेपछि विद्यालय बन्द भएका छन् । हाल सम्म देशभरि जाडोले ४४ जनाको मृत्यु भइसकेको बताइएको छ ।

जाजरकोट, कैलाली र मकवानपुरमा जाडोले ३५ नागरिकको ज्यान लिएको छ । जनकपुरदेखि नेपालगञ्ज आसपास तराई मधेसमा दिनभर हुस्सु र राति शीतलहर पर्दा स्थानीय समस्यामा छन् ।

सप्तरीमा एकसातामा जाडोले १२ जना र कैलालीमा १० को ज्यान गएको छ । भाइरल र ज्वरोले जाजरकोटको मझकोटमा एकमहिने शिशुदेखि जेष्ठ नागरिकसहित ९ को मृत्यु गएको छ । मकवानपुरको मनहरीस्थित बाढीपीडित बस्तीमा बालबालिका र वृद्धासहित ६ को मृत्यु भएको छ । सिरहामा तीन, रौतहट र कपिलबस्तुमा दुई–दुई नागरिकले जाडोकै कारण ज्यान गुमाएका छन् ।

जाडो बढेपछि बालबालिका, महिला, जेष्ठ नागरिक बढी समस्यामा छन् । हिमाली जिल्ला जुम्लाको तापक्रम माइनस ६ डिग्री पुगेको छ ।