माघी महोत्सवको आकर्षक पुरानो थारु घर

कैलाली, २० पुस । कैलालीको गोदावरी नगरपालिका वडा नं. ८ मजगाउँको थारु संग्राहलयको प्राङ्गणमा माघ ८,९ र १० गते माघी महोत्सव हुने भएको छ ।

थारु समुदायको भेषभूषा, कला, संस्कृति र पहिचान जोगाउनको तीन दिने माघी महोत्सवको आयोजना गर्न लागेको विहिबार मजगाउँमा आयोजित पत्रकार सम्मेलनमा महोत्सव मूल संयोजक जनक चौधरीले बताए । उहाँले महोत्सवको मुख्य आकर्षक पुरानो थारु घर, थारु कला संस्कृति हस्तकलाका विभिन्न सामग्रीहरुको प्रदर्शनी रहने जानकारी दिएका थिए ।

कैलालीको थारु गाउँमा पनि आधुनिक घर निर्माण हुने क्रम बढेकोले थारुहरु संस्कृतिसंग सम्बन्धित पुरानो घर लोप हुन थालेपछि आयोजकले माघी महोत्सवमा थारुहरुको पुरानो घर पनि प्रदशनीमा राख्ने संयोजकले बताए ।

साविक श्रीपुर गाविस अन्र्तगत विगत ५ वर्षदेखि प्रत्येक वडामा पालैपालो कला संस्कृति जोगाउने उद्देश्यले माघी मिलन कार्यक्रम गर्दै आएपनि यो वर्ष महोत्सवको रुप दिएको मूल आयोजक समितिका संयोजक चौधरीले जानकारी दिए ।

त्यसैगरी पत्रकार सम्मेलनमा बोल्दै थारु अगुवा माधव चौधरीले थारुको पहिचान जोडिएको पुरानो घर, थारु समुदायको देवता, थारु कला संस्कृति संगै नाँचगानलाई विशेष जोड दिने महोत्सवले अरु समुदायको कला संस्कृतिको पनि प्रवद्र्धन गर्ने बताए ।

महोत्सव तयारीको लागि आर्थिक विभाग, प्रचार प्रसार विभाग, व्यवस्थापन विभाग र यूवा परिचालन विभागको लागि छुट्टा छुट्टै समितिहरु चयन गरेको आयोजकले जानकारी दिए ।