थारु कला, संस्कृतिको पर्याय, भादा गाउँ
धनगढी, १९ पुस । आदिवासी थारु समुदायको कला, संस्कृति, खानपान, भेषभुषाको पर्याय बन्न तर्फ भादा गाउँ उन्मुख भएको छ ।

धनगढी उपमहानगरपालिका–१६ स्थित भादा गाउँ विशुद्ध थारु समुदायको बसोबास संगै थारुका हरेक विधाका अवशेषहरु मौजुद रहनुले थप बल पुगेको हो ।
थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका संयोजक लक्ष्मी नारायण चौधरीले थारु समुदायका हरेक वस्तुस्थिति, चालचलनको संरक्षण तथा प्रवद्र्धनको प्रयासमा जुटेको बताए । उनले भने–‘हामी यस्तो पहिचानको खोजीमा जुटेका छौ, हामी कहाँ थारुका कुन अवशेष छैन ? भन्ने तर्फ चासो बढाएका छौ ।’
वि.स. २०६८ सालमा थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समिति विधिवत दर्ता गरी स्थानीयहरु रैथाने कला, संस्कृति, भेषभुषा र खानपानको संरक्षण तथा सम्वद्र्धनमा जुटेका हुन् ।
भादाका स्थानीय सांस्कृतिक समूहहरु गाउँमा मात्रै सीमित नभई हाल हरेक सभा समारोहको आकर्षण समेत बनेका छन् । चाहे राजाको सवारी होस्, चाहे दलका नेता तथा कार्यकर्ताको स्वागत । उनीहरु नै अग्रपंक्तिमा देखिन्छन । जसले गर्दा अर्कोतिर कला, संस्कृतिको संरक्षण भएको छ भने अर्कोतिर संस्कृतिको पुस्ता हस्तान्तरण र व्यवसायकरण भएको बताउँछिन् भादा दक्षिण टोलस्थित सखिया नाच टोलीकी सदस्य श्यामसुन्दरी चौधरी ।

पहिले–पहिले आफुहरु गाउँमा मात्रै सीमित भएको बताउँदै उनले आजभोलि केहि पारिश्रमिक लिएर मुलुकको विभिन्न ठाउँमा समेत कला प्रदर्शन गर्दै आएको जानकारी दिइन् ।
स्थानीयहरु विभिन्न टोली बनाएर, सखिया नाच, झुम्रा नाच, मघौटा नाच, लाठी नाच प्रदर्शन संगै मागर, ढमार, बर्कीमारलगायत लोक लयको भाका समेत प्रस्तुत गर्दै आएका छन् ।
आफुहरुको अभियानमा थप बल मिलोस भन्ने उदेश्यका साथ स्थानीयहरु हरेक वर्ष थारु होमस्टे गाउँ भादा महोत्सव पनि आयोजना गर्दै आएका छन् । आजदेखि सुरु भएको महोत्सव पुस २३ गतेसम्म सञ्चालन हुने भएको छ ।
धनगढी उपमहानगरपालिका–१६ का वडा अध्यक्ष समेत रहेका समितिका संयोजक चौधरीले महोत्सवको सबै तयारी पूरा भएको बताउँदै निर्धारित समयमा महोत्सव सुरु हुने जनाए ।
महोत्सवको विशेषतावारे जानकारी गराउदै संयोजक चौधरीले भने–‘हरेक दिन रैथाने सांस्कृतिक झाँकीको रुपमा सखिया, झुम्रा, मघौटा, लठ्ठी, बैठक्की, मुङग्रहुवा, गुरुवा, सजना, मैना, ढमार, बर्कीमार, लग्नी, कठमैया, विरहनी गीतको प्रस्तुती रहनेछ । साथै आधुनिक थारु नाचगान, राना थारु, कठरिया थारुको नाचगान र राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहन्छ ।’

त्यस्तै, परम्परागत तथा जैविक खानपानको रुपमा ढिक्री, खरिया, फुलौरी, अण्डीक भात, खुर्मा, पनझझरा, कचरीक बरिया, घोंघी, गेङटा, सुटही, मुसाको सेकुवा, सिद्रा, महुँवाको रक्सी, निघारलगायत रहने आयोजकले जनाएको छ ।
पछिल्लो समय उक्त भादा होमस्टेले अन्तरिक तथा वाहृय पर्यटक भित्र्याउन पनि सफल भएको छ । होमस्टे अवलोकनको लागि वार्षिक करिब पाँच हजार आन्तरिक पर्यटक संगै जर्मनी, अमेरिका, जापान, थाइलेण्ड, नर्बे, क्रिगिक्रिस्तानलगायत मुलुकका पर्यटक आउने गरेको समितिका कोषाध्यक्ष पदम चौधरीले जानकारी दिए ।
पर्यटकहरुलाई लक्षित गरी १९ घरमा होमस्टेको व्यवस्था गरेको बताउदै उनले होमस्टेमा चाहे अनुसारको खानपान, बसोबास, मनोरञ्जनको व्यवस्था रहेको बताए । भादा गाउँ धनगढी बजारदेखि १७ किलोमिटरको दुरीमा रहेको छ ।













