६ लेन सडकको मेयरद्धारा अनुगमन

कैलाली, १७ पुस । भदौ २ गते देखि सुरु भएको मोहना–अत्तरिया छ लेन सडक निर्माणको कामलाई धनगढी उपमहानगरपालिकाका प्रमुख नृपहादुर वड लगायतको टोलीले अनुगमन गरेको छ ।

सडक निर्माण कार्य के कस्तो छ भनेर नगर प्रमुख वड लगायत अन्य जनप्रतिनिधिले अनुगमन गरेका हुन ।

सडकको अनुगमन गर्दै नगर प्रमुख वडले कुनै बहानामा सडक निर्माण कार्य ढिला हुन नदिन ठेकेदारलाई आग्रह गरे । सुदूरपश्चिमको प्रमुख विकासको मेरुदण्ड छ लेन सडक भएकाले यो वा त्यो वहानामा यसको निर्माण कार्य रोकिन नहुने उनको भनाई थियो ।

सडक निर्माणमा कमसल सामग्री प्रयोग भएको पाइए ठेकेदारलाई कडा कारबाहि हुने समेत उनले चेतावनी दिए ।

मोहना–अत्तरिया छ लेन सडक निर्माण कार्यलाई तिव्रता दिन सहयोग गर्ने सडक प्रभावित क्षेत्रका स्थानीयले बताएका छन् । छ लेन सडक निर्माण हुने भएपछि यस क्षेत्रका स्थानीय निकै हर्षित भएको धनगढी उपमहानगरपालिका वडा नम्बर २ का हेमराज श्रेष्ठले बताए ।

उनले निर्माण कार्यको गति पनि तिव्र रहेकाले निर्धारित मितिमै सडकको निर्माण कार्य सकिनेमा ढुक्क भएको बताए । सडक विकास निर्माणको प्रमुख अंग भएकाले यसको निर्माणमा सबैले साथ दिनुपर्ने उनको भनाई छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर २ का पवन खड्काले सडक विस्तामा कुनै अवरोध नगर्ने बताए । उनले सडकमा परेका आफ्नो घर आफै तोडफोड गरिरहेको जानकारी दिए ।

सवैको चाहना सडक निर्माणको काम समयमा सम्पन्न होस् भन्ने रहेको उनले बताए । ६ लेनको सडकमा ८० किलोमिटर प्रतिघन्टाका दरले सवारी कुदाउन सकिने योजनाको डिजाइनमा उल्लेख छ ।

उक्त सडकको दुवै साइडतिर ३–३ मिटर फुटपाथ रहने र सडकभित्र तीनवटा पुल समेत निर्माण हुने छ । अत्तरियादेखि धनगढीको मोहनासम्मको हालको साघुरो सडकमा सवारी चाप बढ्दै जादा आवागमनमा कठिनाइका साथै दुर्घटना अत्यधिक हुने गरेका छन् । यो सडक निर्माण भएमा सडक दुर्घटनाका साथै आवागमनमा निकै सहज हुने देखिन्छ ।