अबैध लागु औषध विक्री गर्ने भारतीय नागरिक पक्राउ
कैलाली, १६ पुस । कैलालीको लम्की चुहा नगरपालिकामा अवैध मेडिकल पसल सञ्चालन गरी प्रतिबन्धित औषधीको विक्री वितरण गर्दै आएका एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
लम्कीचुहा नगरपालीका वडा नम्वर ९ खमरिया मेडिकल पसलमा लागु औषधको रुपमा प्रयोग हुने औषधी विक्री वितरण गर्दै आएको पाईएको थियो । भारतको लखीमपुर जिल्लाको तिकुनियाका ३४ वर्षीय छत्रपाललाई पक्राउ गरिएको हो ।
मेडिकल सञ्चालनको नाममा अवैध लागु औषध विक्री वितरण हुने गरेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले मेडीकल पसलमा खान तलासी गर्दा लागु औषधको रुपमा प्रयोग गरिने प्रतिबन्धित तथा विशेषज्ञ डाक्टरको निगरानीम विरामीलाई खुवाईने औषधी ट्रमाडोल, डिसाईक्लोमाईन, एभिल, सेटिराजिन लगायतका अवैध औषधी तथा नेपालमा दर्ता नभएका विक्री वितरण गर्न नमिल्ने अवैध भारतीय कम्पनीका प्रतिबन्धित ३ वोरा औषधी वरामद गरेको हो ।
प्रारम्भिक अनुसनन्धानबाट पक्राउ गरेका छत्रपालले मेडिकल दर्ता नगरेको, मेडिकलसँग सम्बन्धी कुनै शैक्षिक योग्यता हासिल नगरेको, चर्को मुल्य लिएर लागु औषध बिक्री वितरण गर्ने र प्रतिबन्धित भारतीय औषधी भन्सार छली ल्याएर विक्री वितरण गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।













