खप्तड गोल्ड कपको तयारी तिव्र

कैलाली, १० पुस । यहि पुस २१ गतेदेखि धनगढीमा हुन लागेको खप्तड गोल्ड कप प्रतियोगिताको तयारी तिव्र पारिएको छ । अन्तर्राष्ट्रिय तथा नेपालका ए डिभिजन टिमहरु सहभागी हुने प्रतियोगिताले यस क्षेत्रको खेलकुदसगै पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा आयोजकले गरेको छ ।

विजेता टिमलाई नेपालमै सबभन्दा बढी ११ लाख ११ हजार १ सय ११ रुपैँया नगद पुरस्कार राखिएको आयोजकले जानकारी दिए । तियोगिता सञ्चालनका लागि करिव सवा १ करोड खर्च हुने अनुमान गरिएको छ ।

गतवर्ष प्रथम सुदुरपश्चिम खप्तड गोल्डकप सफलतापूर्वक सम्पन्न गरेको सुदुरपश्चिम ११ स्पोर्टस क्लवले पौष २१ गतेदेखि माघ १ गतेसम्म दोस्रो अन्तराष्ट्रिय नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्ड कप आयोजना गरेको हो । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि आयोजकले आन्तरीक तयारीको लागि विभिन्न समिति र उपसमिति बनाएर काम सुरु गरिएको क्लवका अध्यक्ष सुरेश हमालले बताए ।

नेपालकै सर्वाधिक धनराशिको सुदुरपश्चिम खप्तड गोल्डकपमा आयोजक सुदुरपश्चिम ११ लगायत १२ वटा ए डिभिजन क्लबको सहभागिता रहने क्लवका महासचिव प्रकाश शाहीले बताए । खेलमा भुटानको डुक स्टार फुटवल क्लव, नेपालका मनाङ मस्र्याङदी, संकटा, त्रिभुवन आर्मी, झापा ११, पोखराको सहारा, अग्नी रुपन्देही ११, धरान फुटवल क्लव, एपीएफ, ललितपुरको च्यासल युथ क्लव र थ्रि स्टार सहभागी हुने उनले बताए ।

प्रतियोगिताको विजेता टिमलाई ११ लाख ११ हजार १ सय ११ तथा उपविजेतालाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैया पुरस्कार दिइने छ । उत्कृष्ट खेलाडीले मोटरसाईकल तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीले १०/१० हजार रुपैया पुरुस्कार पाउने उनले बताए ।

१ करोड १० लाख भन्दा बढी खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितालाई प्रत्येक दिन ७ हजार भन्दा बढी दर्शकले हेर्ने आयोजकले दावी गरेको छ । त्यस्तै, डिस होमले पनि प्रत्यक्ष प्रशारण गर्ने गर्ने भएका कारण १ करोड मानिसले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हेर्न दावी आयोजजको छ । प्रतियोगितामा ख्याति प्राप्त राष्ट्रिय तथा अन्तराष्ट्रिय टिम र खेलाडीको सहभागिता हुने भएकाले यस क्षेत्रको पर्यटन विकाशमा समेत टेवा पुग्ने जिल्ला खेलकुद विकाश समितिका अध्यक्ष दीपक सिहले बताए ।

खेलकुदको विकाशमा सहकार्य गरि सुदुरपश्चिमलाई खेलकुद, पर्यटनको रुपमा स्थापित गरौ भन्ने मुल नारा दिईएको प्रतियोगितालाई सिजि ग्रुपको नेपाल आईसले मुख्य प्रायोजन गरेको छ भने सह प्रायोजन नेपाल टेलिकमले गरेको छ ।