कैलारीलाई नमूना गापा बनाउने कार्यनीति अगाडी बढ्यो
कैलाली, १० पुस । कैलालीको कैलारी गाउँपालिकालाई नमूना गाउँपालिका बनाउने कार्यनीति अगाडी बढेको छ ।

स्मार्ट गाउँपालिका बनाउने परिकल्पनाका साथ अगाडी बढेको उक्त गाउँपालिकालाई हाल नमूना गाउँपालिका बनाउने कार्यनीति अगाडी बढाइएको हो । गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले एक कार्यक्रमका बीच नमूना बनाउन कार्यनीति अगाडी बढेको बताए ।
उनले कैलारी गाउँपालिकाले ‘आपन डगर अप्नहे बनैना’ आफ्नो बाटो आफै बनाउने रणनीतिक योजनामा ७५ प्रतिशत बाटोमा ग्राभेल गरिसकेको बताए ।

त्यस्तै गाउँपालिकाकास्थित महिलाहरुलाई सशक्तिकरण गर्न विभिन्न किसिमका तालिमहरु सञ्चालन गरिरहेको अध्यक्ष चौधरीले बताए ।
उनले गाउँपालिका भित्रका वडाहरुलाई विभिन्न पकेट एरियामा विभाजन गरिएको बताउदै वडा नं. ८ लाई च्याउँ खेती पकेट क्षेत्र, वडा नं. ४ लाई बेमौसमी तरकारी खेती पकेट क्षेत्र बनाउने उद्देश्यले उनीहरुलाई अधारभूत तालिम दिएर काम शुरु गरिसकेको उल्लेख गरे ।
त्यस्तै, कुनै वडामा माछापालन, महिलाहरुलाई हाते सीप जस्तै बेतबाँसको तालिम, सिलाई बुनाई तालिम, सिकर्मी, डकर्मीको तालिम, व्यूटिपार्लर जस्ता तालिमहरु सञ्चालन गर्ने रणनीतिक योजना बनाइएको छ ।

अध्यक्ष चौधरीले गाउँपालिकालाई दुई वर्षमा छुवाछुट मुक्त बनाउने लक्ष्य रहेको बताउदै छुवाछुटको मुद्धा हालसम्म गापामा नआएको बताए ।
उनले जनतालाई गापामा भएका कामको गतिविधिबारे जानकारी गराउन हरेक योजनाको आयव्ययको बोर्ड वडा वडामा राख्ने तयारी भईरहेको जानकारी दिए ।













