बाढीले बगाएको बाटो पटानीमा जुटे भजनीका महिला

धनगढी, ६ पुस । गत वर्षतमा आएको बाढीले बिग्रेको बाटो मर्मत सम्भार तथा माटो पटानीमा भजनीका महिलाहरु एक जुट भएका छन् ।

सरकारी तथा गैरसरकारी संघ सस्थाहरुको सहयोगमा भजनी नगरपालिका–२ मोहनपुरदेखि सट्घरुवासम्मको बाटो पटानीमा महिलाहरु एक जुट भएका हुन् ।

केयर नेपाल र सामाजिक विकासको लागि सचेत समाज (सिएसएसडि) को साझेदारी तथा भजनी नगरपालिका वडा नम्बर २ को समन्वयमा आफ्नो बाटो आफै बनाउने अभियानमा जुटेका हुन् ।

सिएसएसडिको सामाजिक परिचालक दिपु चौधरीले बाटो पटानीमा ९० जनाको सहभागिता रहेको जानकारी दिए । उनले उपस्थित मध्ये ५० भन्दा बढी महिला सहभागिता रहेको बताए ।

समान कामको समान ज्याला कार्यक्रम अन्तरगत सो बाटो पटानी कार्यक्रम १० दिनसम्म चल्ने चौधरीले बताए । उनले बाटो पटानी अवधीमा करिब चार किलोमिटर सडक पटानी गर्ने लक्ष्य रहेको बताए ।