श्रीमती हत्याको कसुरमा भारतीय संचारकर्मी सुहैबलाई आजीवन कारावास

भारतको राजधानी नयाँ दिल्लीको एक अदालतले अपराध सम्बन्धी लोकप्रिय टेलिभिजन श्रृखंलाका प्रस्तोतालाई आफ्नो श्रीमतीको हत्या गरेको कसुरमा आजीवन कारावासको सजाय सुनाएको छ ।

सुहैब इल्यासीले “मोस्ट वान्टेड” नामक टेलिभिजन कार्यक्रम चलाउँथे । उनले आफनो श्रीमती अञ्जु इल्यासीलाई सन् २००० मा छुरा हानेर मारेको ठहर भएको छ ।

उनले श्रीमतीले आत्महत्या गरेको भनेका थिए तर उनीमाथि श्रीमतीलाई माइतीबाट थप दाइजो ल्याउन यातना दिने गरेको आरोप लागेको थियो।

सुहैब इल्यासीको वकिलले पुनरावेदन अदालत जाने बताएका छन् । अञ्जु इल्यासीको मृत्युलाई शुरुमा आत्महत्याको घटनाको रुपमा लिइएको थियो । पछि मृतककी आमाले ज्वाईंले हत्या गरेको आरोपमा उजुरी दिएकी थिइन्।

सन् १९६१ देखि भारतमा दाइजो प्रथालाई गैरकानूनी मानिएको छ । तैपनि अधिकांश मागी विवाहमा यो प्रथा कायम छ ।

भारतमा प्रत्येक वर्ष पर्याप्त दाइजो नल्याएको निहुँमा हजारौं महिला श्रीमान्का परिवारबाट मारिने गरेका छन्। साभारः– बिबिसी