स्मार्ट बन्ने कैलारी गाउँपालिकामा महिलाहरुले सुत्केरी भत्ता समेत पाएनन्
हसुलिया, २८ मंसिर । कैलालीको कैलारी गाउँपालिकास्थित स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलाहरुले सुत्केरी भत्ता नपाएको रहस्य खुलेको छ ।

कैलारी गापा–२ कुकुर भुक्काकी फूलमाया चौधरीले स्थानीय तहको नयाँ संरचना आए पश्चात सुत्केरी भत्ता रोकिएको गुनासो गरिन् ।
नियमबमोजिम सुत्केरी गराउने महिलाहरुले नौ सय रुपैया सुत्केरी भत्ता पाउने व्यवस्था रहेको छ । तर सुत्केरी गराउने महिलाहरुले भत्ता नपाएपछि नयाँ स्थानीय तहको कार्यशैली पहिलाको भन्दा तल्लो स्तरको रहेको गुनासो गरेका हुन् ।
सुत्केरी भत्ता मात्रै नभई यहाँको स्वास्थ्य चौकीमा परिवार नियोजनको साधनको पनि चरम अभावमा देखिएको छ । कण्डम, फिल्स र गर्भवती महिलाहरुले खाने आइरन चक्की समेत नपाइने बताइएको छ । गाउँपालिकास्थित उज्यालो समूहकी सदस्य समेत रहेकी चौधरीले झुल, नवजात शिशुले पाउने न्यानो झोला नपाएको जनाइन् ।
दलित महिला अधिकार मञ्च नेपालको आयोजिनामा स्थानीय स्रोत र साधानमा महिला, दलित तथा सिमान्तकृत वर्गको पहुँच विषय अन्तक्रिया कार्यक्रमका सहभागीहरुले गाँउपालिकाभित्र उपलब्ध सेवा सुविधावारे गुनासो गरेका थिए ।
कार्यक्रमका सहभागीहरुले स्वास्थ्य, शिक्षा र खानेपानीको समस्यासंगै खुला जुवा तास र रक्सीले महिला हिंसा बढ्दै गएको बताएका छन् । तर नियन्त्रणको पहल नभएकोले गाउँपालिकाको ध्यान जानुपर्ने माग गरिएको छ ।
कार्यक्रममा गापाका अध्यक्ष लाजुराम चौधरीले स्मार्ट गाउँपालिका बनाउनको लागि दुई खाले योजना तर्जुमा गरेको बताए । उनले अल्पकालीन दिर्घकालिन योजना बनाएको बताउदै गाउँपालिकाभित्र तत्काल समस्या सामाधान गर्न सक्ने काम तुरुन्त गर्ने अश्वासन दिए । उनले गाउँपालिकाका सुत्केरी महिलाहरुले राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित नगर्ने बताए ।
देश नयाँ संरचनापछि केही समस्या आएको बताउदै अध्यक्ष चौधरीले आफूबाट हुन सक्ने सबै काम मिलाएर लैजाने बताए । हसुलिया स्वास्थ्य चौकीका ईन्चार्ज भुपेन्द्र महराले केही ठाउँमा सूचनाको अभावले बुझाईमा कमी आएको बताउँदै गाउँपालिकाको सबै ठाउँमा रोक्का गरिएको सुत्केरी भत्ता वितरण गरिरहेको जानकारी दिए । उनले केही छुटेको भए वितरण गर्ने जानकारी दिए ।
त्यस्तै उनले परिवार नियोजनको साधनको लागि वडाको सम्बन्धित निकायले केन्द्रबाटै पहल गरी उपल्बध गराउनु पर्ने बताउँदै आइरन चक्की दुई चार दिनमा उपलब्ध गराउने बताए । उनले नवजात शिशुलाई न्यानो झोला दिएको बताउँदै बञ्चित भएकाहरु सम्बन्धित निकायमा गएर बुझ्न समेत आग्रह गरे ।
कार्यक्रममा गापाका वडा अध्यक्ष, ईलाका प्रहरी कार्यालय हसुलियाका इन्चार्ज, महिला सशक्तिकरण अन्तर्गतका महिला समुहका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको समापन मञ्चकी कार्यकारी निर्देशक सावित्रा धिमिरेले गरेकी थिइन् ।













