प्रदेश ७ को राजधानी धनगढी वा अत्तरियाः नारदमुनी राना

कैलाली, २८ मंसिर । कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा निर्वाचित एमालेका वैकल्पिक केन्द्रीय सदस्य नारदमुनी रानाले चुनावका बेला गरेका बाचाहरु क्रमशः पूरा गर्दै जाने प्रतिवद्धता जनाएका छन् ।

कैलालीको धनगढी बिहीबार आयोजित पत्रकार सम्मेलनमा रानाले आफूलाई निर्वाचित गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिँदै चुनावका बेला गरेका बाचाहरु पाँच वर्षभित्र प्राथमिकताका आधारमा पूरा गर्दै जाने बताए ।

नेता रानाले सात नम्बर प्रदेशको राजधानी धनगढीदेखि अत्तरीयाको बीचमा जहाँ भए पनि उपयुक्त हुने बताए । ‘सबै कुराले पायक पर्ने ठाउँ धनगढी(अत्तरिया हो । यसमा कुनै शंका नगर्न आग्रह गर्छु,’ उनले भने ।

उनले कैलाली सदरमु्काम धनगढीसँग सीमा जोडिएको गौरिफन्टा नाकालाई व्यवस्थित गर्न आफूले केन्द्रीय स्तरबाट पहल गर्ने बताए ।

अत्तरिया मोहना निर्माणाधीन ६ लेन सडककोबारेमा रानाले कसैले दबाव दिँदैमा सडकको कुनै नक्सा फेरबदल नहुने बताए । जे जस्तो सम्झौता भएको छ त्यहि अनरुप सडक निर्माणको काम अघि बढिसकेको उनले बताए ।

रानाले कांग्रेस उम्मेदवार एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई पराजित गरेका हुन् । पराजित भएलगत्तै आरजुले नारदमुनीलाई मन्त्री बनाउन आफूले पहल गर्ने बताएकी थिइन् ।

सो विषयमा पत्रकारले सोधेको जिज्ञासामा रानाले भने, ‘त्यो विषयमा मेरो कुनै टिप्पणी छैन, पार्टीले दिएको निर्देशन अनुसार चल्छु ।’