कैलाली १ को मतगणनामा ढिलाई, मतगणना स्थलमा राजपाका एजेन्टहरुलाई कडाई

धनगढी, २४ मंसिर । कैलाली निर्वाचन क्षेत्र नम्बर १ को मतगणना स्थल कृषि विकास कार्यालयमा राष्ट्रिय जनता पार्टीका एजेन्टहरुलाई प्रवेशमा कडाई गरिएको छ ।

अरु दलका पार्टी प्रतिनिधिलाईहरुलाई प्रवेशमा सहज भएपनि आफुहरुलाई प्रशासनले निकै कडाई गरिएको गुनासो छ । राजपाका प्रतिनिधि दिनेश चौधरीले अरु दलको जस्तो आफुहरुलाई प्रवेशमा सहज नभएको बताए ।

उनले भने–‘पास भएको एजेन्टलाई प्रवेशमा कडाई गरिएको छ । पालोमा बस्न जाने एजेन्टलाई लिन भित्र बसेको एजेन्टले गेटसम्म पुग्नु पर्ने बाध्यता प्रशासनले सिर्जना गरेको छ । तर अरुलाई भने यस्तो बाध्यता छैन । कृषि विकास कार्यालयको मत गणना हुने स्थानदेखि गेटसम्मको दुरी करिब एक सय मिटर भन्दा वढी छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले कडाई नभएको बताउँदै एकै दलका दुई भन्दा वढी एजेन्ट प्रवेश गर्नथालेपछि केहि कडाई भएको हुन सक्ने बताए । तर सबै एजेन्टहरुलाई समान रुपमा प्रवेश दिएको उल्लेख गरे ।

त्यस्तै उनले क्षेत्र नम्बर १ को मतगणनामा केहि ढिलाई भएको स्वीकार गर्दै एकै टीमबाट मात्रै गणना भएकोले ढिलाई भएको बताए । अरु क्षेत्रको गणना सकिएपछि १ नम्बरको पनि दुई टीमबाट गणना गरिने प्रजिअ रिजालको भनाई छ ।