नवनिर्वाचित सांसद रोकाको राजनीतिक यात्रा

नेकपा (माओवादी केन्द्र)का उम्मेदवार कमला रोका पूर्वी रुकुमबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहिलो निर्वाचित महिला सांसद बनेकी छन् ।
कान्छो जिल्लाको रुपमा परिचित पूर्वी रुकुमबाट विजयको खाता खोलेर वाम गठबन्धनका उम्मेदवार रोकाले संघीय नेपालको नयाँ यात्रा शुरु गरेकी छन् ।
माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षमा महिला छापामारको रुपमा युद्धमा सहभागी हुने थोरैमध्ये रोका एक हुन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन लड्ने थोरै महिलामध्ये रोका एक उम्मेदवारको रुपमा मैदानमा उत्रिएकी थिईन् । रोकाले प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई छ हजार २८ मत अन्तरले पराजित गरेकी हुन् ।
निर्वाचन आयोगले प्रकाशित गरेको आधिकारिक तथ्याँकअनुसार वाम गठबन्धनका साझा उम्मेदवार रोकाले १० हजार ४३४ मत ल्याएकी थिईन्। सो निर्वाचन क्षेत्रका दुवै प्रदेशसभा सदस्यमा समेत माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
विसं २०४६ देखि नै राजनीतिमा लागेकी रोका कक्षा १० मा अध्ययन गर्दागर्दै भूमिगत भएकी थिइन् । उनले २०५२ सालदेखि तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको संघर्षमा पूर्णकालीन भई भूमिगत राजनीति शुरु गरेकी थिइन् । छापामारको रुपमा उनी विभिन्न लडाइँमा अग्रभागमा रहेर लडेकी थिइन् ।
माओवादीका नेताहरुका अनुसार उनी माओवादीको पहिलो महिला छापामारसमेत हुन् । विसं २०३२ पुस १५ गते रुकुमको प्वाँङमा जन्मीएकी रोका ‘महिला कमजोर हुँदैनन्, पुरुष जतिकै सक्षम छन्’ भन्ने मान्यता स्थापित गर्न सफल भएकी छन् ।
उनी २०५३ सालमा माओवादी जिल्ला समितिको सदस्य भएकी थिइन् । विसं २०६१ सालमा माओवादीको केन्द्रीय सदस्यका रुपमा निर्वाचित भएकी रोका हाल माओवादी केन्द्रको पोलिटब्यूरो सदस्यसमेत हुन् ।
रुकुमको अति दुर्गम मगर किसान परिवारमा जन्मीएकी रोका लेखिकासमेत हुन् । उनले कथा तथा निबन्धका साथै विभिन्न पत्रपत्रिकामा नियमित स्तम्भ समेत लेख्दै आएकी छन् ।
अमेरिकी पत्रकार जुलीद्वारा निर्देशित वृत्तचित्र ‘दी सारी सोल्जर’मा रहेका विभिन्न पात्रहरूमध्ये एक साहसी पात्रको रुपमा रोकालाई उल्लेख गरिएको छ । उक्त वृत्तचित्रमा साहसी महिलाको रुपमा नेकपा एमाले का नेत्री रामकुमारी झाँक्रीलाई समेत समेटिएको छ ।
युवा तथा खेलकुदमन्त्रीसमेत बनेकी रोका प्रतिनिधिसभामा पूर्व रुकुमबाट निर्वाचित भएर नयाँ इतिहास रचना गरेको भरतपुर महानगरपालिकाका प्रमुख रेणू दाहालको टिप्पणी छ ।
उनका श्रीमान् गणेशमान पुन पूर्व आपूर्तिमन्त्री एवं वाइसिएलको पूर्वअध्यक्ष हुन् । पूर्वी रुकुमबाट निर्वाचित भएपछि नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रोकाले आफूलाई मतदान गर्ने मतदाता तथा आमजनताप्रति आभार प्रकट गरेकी छन् ।
उनले प्रशासन, निर्वाचन आयोग, सुरक्षाकर्मीसहित सबै सरोकार भएकालाई समेत धन्यवाद ज्ञापन गरेकी छन् ।
जनतासमक्ष गरेको वाचा स्मरण गर्दै उनले भनिन् – ‘विगतमा राजतन्त्रको अन्त्य गर्ने वाचा गरेका थियाैं । जनताले साथ दिएकाले मुलुकमा गणतन्त्र स्थापना भयो । संविधान लेख्ने कार्यभार लिएर जनतामा गयौँ र त्यो कार्य समेत पूरा गर्यौँ । अहिले संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण घडीमा हामी वाम गठबन्धनका तर्फबाट निर्वाचित भएका छौँ । यो नै खुशीको विषय हो ।’
कान्छो जिल्ला पूर्वी रुकुममा भौतिक पूर्वाधारसहित जनतालाई सक्षम बनाउने अभिभारा पूरा गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन् ।
उनीसँगै प्रदेश क मा तेजबहादुर ओली र ख मा पूर्णबहादुर घर्तीले विजय हासिल गरेका छन् ।













