एमाले अध्यक्ष ओलीको सुरुवाती अग्रता, काँग्रेसका अधिकारीले टक्कटर दिइरहेका छन्

२२ मंसिर, झापा । जारी मतगणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ८ सय मतले मात्रैँ अगाडि छन् ।

झापा क्षेत्र नं.५ बाट उम्मेदवारी दिएका ओलीले १ हजार ९ सय ७९ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेस उम्मेदवार खगेन्द्र अधिकारीले १ हजार १ सय ६६ मत ल्याएर पछ्‍याइरहेका छन् ।

त्यसैगरी एमालेले झापा क्षेत्र नं. २, ४ र ५ मा अग्रता कायम गरेको छ भने क्षेत्र नं. १ मा माओवादी केन्द्र र क्षेत्र नं. ३ मा राप्रपाका उम्मेदवारले अग्रता कायम गरेका छन् । क्षेत्र नं. ३ मा वाम गठबन्धनले राप्रपालाई सघाएको थियो भने अन्य क्षेत्रमा राप्रपाले बाम गठबन्धनलाई समर्थन गरेको थियो ।

पछिल्ला परिणामअनुसार क्षेत्र नं. १ मा वाम गठबन्धनका लागि माओवादी केन्द्रका उम्मेदवार राम कार्कीले ३ हजार ५४ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले २ हजार ८ सय १५ मत ल्याएका छन् । यो निर्वाचन क्षेत्रमा पनि कडा प्रतिस्पर्धा भइरहेको छ ।

क्षेत्र नं. २ मा एमाले उम्मेदवार पवित्रा निरौला खरेलले अग्रता कायम गरेकी छिन् । उनले २ हजार २ सय ४ मत ल्याएकी छिन् भने कांग्रेस उम्मेदवार उद्धव थापाले १ हजार ४ सय ४ मत ल्याएका छन् ।

झापा क्षेत्र नं. २ मा राप्रपा उम्मेदवार राजेन्द्रकुमार लिङ्देन २ हजार ९ सय ६७ मत ल्याउँदै अगाडि रहेका छन् भने कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौला २ हजार ३ सय २५ मतसहित लिङ्देनलाई पछ्याइरहेका छन् ।

झापा क्षेत्र नं. ४ मा एमाले उम्मेदवार एलपी साँवा लिम्बुले अग्रता कायम गरेका छन् । लिम्बु ३ हजार ४ सय १ ल्याउँदै अगाडि छन् भने कांग्रेस उम्मेदवार देउकुमार थेबेले २ हजार १ सय ७८ मत ल्याएका छन् ।