मौन अवधिमै मतदान केन्द्र वरिपरि राजनीतिक दलको प्रचार सामग्री, सम्बन्धित निकाय मौन

कैलाली, १९ मंसिर । मंसिर २१ गते हुन गैरहेको प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको मौन अवधी लागेपनि बजार, टोल, गाउँवस्ती पुरै प्रचार सामग्रीले भरिभराउ देखिएको छ ।

निर्वाचन कार्यालय, प्रहरी प्रशासन र राजनीतिक दलहरुले उक्त प्रचार सामग्री हटाउन तर्फ ध्यान नदिदा पर्चा, पम्प्लेटले अझैपनि भरिएको छ । यहाँसम्मकी मौन अवधी सुरु भएपछि मतदान केन्द्रदेखि तीन सय मिटर परिपरिका प्रचार सामग्री हटाई सक्नु पर्ने प्रावधान छ । तर मतदान केन्द्रको वरिपरि ती प्रचार सामग्री कायमै रहेका छन् ।

कैलारी गाउँपालिका–३ स्थित दीपेन्द्र उमाविमा रहेको मतदान केन्द्रको वरिपरि नेपाली काँग्रेस, माओवादी केन्द्रलगायत राजनीतिक दलको प्रचार सामग्री अझै हटाइएको छैन । यहाँसम्मकी त्यो मतदान केन्द र नेपाली काँग्रेसको चुनावी सम्पर्क कार्यालय २० मिटरको दुरीमा रहेको छ । जुन सम्पर्क कार्यालय नेपाली काँग्रेसको चुनावी प्रचार सामग्रीले सजाइएको छ ।

तर सम्पर्क कार्यालयमा टाँसिएका प्रचार सामग्रीवारे कोहिले पनि गुनासो नगरेको बताउँछन् नेपाली काँग्रेस क्षेत्र नं. ३ का प्रचारप्रसार समितिका संयोजक विजय चौधरी ।

‘पार्टीले कार्यालय राख्नाको लागि घर नभेटिएपछि त्यही ठाउँ उपयूक्त ठान्दै सम्पर्क कार्यालय राखेको हो तर हालसम्म यो अचारसहिंता विपरित भयो भनेर हटाउन कोही आएनन् ।’ चौधरीले भने ‘हामी झण्डा व्यानर टाँस्यो हटाउने काम निर्वाचन आयोगको हो तर उसले हटाएन गल्ती हाम्रो होईन ।’

त्यस्तै, हसुलिया बजारमा निर्वाचनको सुरक्षार्थ सशस्त्र प्रहरी बलको अस्थायी बेस क्याम्प स्थापना गरिएको छ । जसको वरिपरि पनि सबै दलको झण्डाबाट निर्मित ध्वाजाले बजार नै झिलिमिलि बनाइएको छ । तर सो झिलिमिलि हटाउन पनि कसैको ध्यान पुगेको देखिन्दैन ।
त्यतिमात्रै, नभएर फूलबारीको पच्चिस घरस्थित हुलाकी राजमार्गमा रहेको फूलबारी निमाविको गेट अगाडी झण्डै झण्डाले रुख बनाएर गाडेको छ । स्कूल हाताभित्र निर्वाचन सम्पन्न गर्न कर्मचारी भने काममा खटिएका छन् ।

कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले दलले प्रचारप्रसारको क्रममा टाँसिएका चुनावी प्रचारप्रसार समाग्री मौन अवधिमा आफैले हटाउनु पर्ने बताए ।

उनले बुटकेन्द्रदेखि तीन सय मिटर वरिपरि रहेको कुनैपनि ठाउँमा प्रचार प्रसार सामाग्री टाँस्न नपाउने र टाँसिएको सामाग्री हटाउन बुट केन्द्रमा खटिएका कर्मचारी र सोही ठाउँका राजनीतिक दलबीच सर्वदलीय बैठकपछि मौन अवधि शुरु हुनु भन्दा सबै प्रचार सामाग्री हटाउने निर्णय भएको जानकारी दिए ।

उनले कतिपय ठाउँमा दलहरुले आफै पनि टाँसिएको सामाग्री हटाईरहेको बताउदै कतिपय ठाउँमा दलहरुबीच नै नयाँ पर्चा टाँस्ने प्रतिस्पर्धा भईरहेको बताए ।

निर्वाचन आयोगले छुट्टै अनुगमन टोली खटाएको जानकारी दिदै पाँच वटै निर्वाचन क्षेत्रमा १/१ जना कर्मचारी, २ जना सिनियर कर्मचारी र १ जना अधिकृत गरी ८ जनाको टोली अनुगमनको लागि नै खटाएको रिजालको भनाई छ ।

उनले अनुगमनबाट आएको रिपोर्ट अनुसार आवश्यक कारवाही निर्वाचन आयोगबाट अगाडी बढ्ने बताए ।