मुगुमा फैलियो भाइरल ज्वरोले १२ को मृत्यू, बालबालिका र महिला बढी जोखिममा
कालिकोट १७ मंसिर १७ । मुगुको खत्याड गाउँपालिकामा फैलिएको भाइरल ज्वरोका कारणले त्यहाँका महिला र बालबालिका धेरै प्रभावित भएका छन् ।
एक महिनादेखि फैलिएको भाइरल ज्वरोका कारणले १२ जनाको मृत्यु भएको छ । जसमा ६ जना महिला रहेका छन् भने ६ जना बृद्ध र बालबालिका रहेका छन् । भाइरल ज्वरोका कारणले यानाथ रारा नगरपालिका वडा नम्बर ५ ढुम गाउँकी ७२ वर्षीया लालशोभा बुढा, वडा नम्बर ७ मा एक जना एक वर्षीय बालक र ७० वर्षीया धर्मकला शाही, त्यस्तै, यता खत्याड गाउँपालिकाका सबै गाउँमा रिगा गाउँका ६५ वर्षीय बिउरासरा पाण्डे, ४४ वर्षीय बिष्णु जैसी र सुकाढिक गाउँकी ५५ वर्षीय पूर्वा कार्कीको मृत्यु भएको छ ।
त्यस्तै, खमाले कवाकी ४२ वर्षीय मागी रोकायाको पनि भाइरल ज्वरोका कारणले मृत्यु भएको छ । मौसममा आएको अदल बदलीका कारणले भाइरल ज्वरोको प्रकोप बढेको त्यसबाट सबैभन्दा बढी महिला तथा बालबालिका प्रभावित भएको निमित्त जिल्ला स्वास्थ्य अधिकृत धनप्रसाद शर्माले बताए । ‘मौसममा आएको परिर्वनका कारणले भाइरल ज्वरोका बिरामी बढेका हुन् । सबैभन्दा बढी प्रभावित महिला र बालबालिका रहेका छन् ।’ उनले भने,‘भारइल ज्वरो फैलिएको ठाउँमा औषधिसहित अहेब ज्ञानसिंह बुढाको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली बिहीबार पठाइएको छ ।’
भाइरल ज्वरोका बिरामीहरु दैनिक जिल्ला अस्पतालमा १ सय ५० बढी ज्वरो र टाइफाइडका बिरामी आउने गरेको र त्यसमध्ये सबैभन्दा बढी महिला तथा बालबालिका र बृद्धहरु रहेको डा. मीना काफ्ले चौलागाईंले बताइन् । ‘जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामी आउने क्रम बढेको छ । महिला र बालबालिका यसको प्रभाव निकै बढेको छ ।’ उनले भनिन् ‘मौसममा आएका परिवर्तनका कारणले यसो हुन गएको हो ।’













