रेशम चौधरीको अनौठो प्रचार शैली, चुनाव जित्ने दावी


कैलाली (टिकापुर) । टिकापुर विद्रोह पश्चात भूमिगत जीवन विताउँदै आएका नेता रेशम चौधरी कैलाली क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभाका उम्मेदवार बनेका छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) बाट उम्मेदवार बनेका उनी भुमिगत रहेकै अवस्थामा चुनाव प्रचार प्रसारमा जुटेका छन् ।
उनको निर्वाचन क्षेत्रमा ‘हाइटेक’ शैलीमा प्रचार प्रसार हुँदैछ । चौधरीले भाषण गरेका भिडियोहरु मतदाताको घर घरमा गएर देखाइदैछ ।

थारु बाहुल्य रहेको उक्त क्षेत्रमा वाम गठबन्धन र कांग्रेसले उम्मेदवार खडा गरे पनि थारु आन्दोलनका अगुवा चौधरीको पक्षमा मतदाता देखिएको स्थानीयवासीहरु बताउँछन् ।

नेता चौधरीले आफु भौगोलिक सांस्कृतिक पहिचानको पक्षमा रहेकोले चुनाव जित्ने दाबी गरे । उनले भने,‘म थारुको छोरा थारुको आन्दोलनबाट कहिले भाग्दिन । म मेरो जनताका लागि ज्यानको आहुती दिन तयार छु । त्यही भएर कैलालीका जनता मलाई जिताउने पक्षमा छन् ।’

चौधरीले केही उम्मेदवारहरु थारु भएपनि थारु विरोधी पार्टीबाट रहेकाले थारुहरुले भोट नदिने दावी गरे । आफु मात्र थारु आन्दोलन पक्षधर र पार्टीको उम्मेदवार भएकोले चुनाव जित्ने चौधरीले दावी गरे ।

टिकापुर घटना पश्चात कर्फूयु लागेकै अवस्थामा गैर थारुहरुले थारुहरुमाथि आक्रमन गरेका थिए । सोही क्रममा चौधरीसहित दर्जनौं व्यक्तिको घर तथा पसलहरुमा आगो लगाइएको थियो । थारु महिलाहरुसँग दुव्र्यवहारसमेत भएको थियो ।