तराजुमा तौलेर मत दिनुस्ः रविन्द्र मिश्र
धनगढी, १२ मंसिर । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले मतदाताहरुलाई तराजुमा तौलेर मत दिन आग्रह गरे ।

मंगलवार आयोजित सो पार्टीको चुनावी सभामा उनले आसन्न चुनावमा आफ्नो पार्टीलाई मत दिन आग्रह गरेका हुन् । उनले देशलाई विकास, समृद्धि र सुशासनमा लैजान अब नेपाली जनताको मन र मत बदलन जरुरी रहेको बताए ।
मिश्रले भने–‘राज्यको नीति निर्माण तहमा पुग्ने नेताहरुको गलत सोच र व्यवहारकै कारण जनताले अपेक्षा गरेको प्रतिफल पाउन नसकेको हो ।’ संयोजक मिश्रले अहिलेको चुनावमा आफ्नो पार्टी राष्ट्रिय पार्टी बन्ने दाबीसमेत गरे ।
‘प्रदेश र प्रतिनिधि सभाको चुनावपछि विवेकशिल साझा पार्टी पनि राट्रिय पार्टी बन्छ । राष्ट्रिय पार्टी बन्नका लागि प्रत्यक्षतर्फ एक सिट तथा देशभरिमा ३ प्रतिशत मत ल्याउनुपर्छ ।’ मिश्रले ३ महिनामै देश तराजुमय बनेको उल्लेख गर्दै चुनावपछि राष्ट्रिय पार्टी बन्ने र अबको ३ वर्षमा देशको आर्थिक विकासको जिम्मा विवेकशिल साझा पार्टीले लिने गरे ।

सुदूरपश्चिमका जनताले सधै अन्याय सहनु परेको उल्लेख गर्दै उनले सुदूरपश्चिमले सुदूरपश्चिमकै व्यक्तिलाई प्रधानमन्त्री पाएको आभास गर्न नसकेको दावी गरे ।
पुराना दलहरु विकास विरोधी रहेको आरोप लगाउँदै सो पार्टीका नेताहरुले अब विवेकशिल साझा पार्टीको अगुवाईमा मुलुकको विकासलाई कुनै पनि शक्तिले पनि रोक्न नसक्ने दावी गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सो पार्टीका प्रवक्ता डा. सुरेश आचार्यले देशले परिवर्तन चाहेको बताए । पार्क मोडमा आयोजित कार्यक्रमलाई विवेकशिल साझा पार्टीका प्रदेश नम्बर ७ का संयोजक गोपाल हमाल, क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिनेशराज भण्डारीले लगायतले सम्बोधन गरेका थिए ।













