विमान दुर्घनाका घाइते सबै सुरक्षाकर्मी, ३ जनाको अवस्था गम्भीर

हुम्ला, १२ मंसिर । विहान उडान भर्ने क्रममा दुर्घटनाका सबै घाइते सुरक्षाकर्मी भएको खुलेको छ ।

मंगलबार विहान हुम्लाको सिमकोट विमानस्थलमा दुर्घटना भएको तारा एयरको नाइन एन एबीएम कलसाइन ट्वीनअटर विमानमा चालक दलका तीन सदस्यबाहेक १३ जना सुरक्षाकर्मी सवार थिए । चुनाव सकेर उनीहरु सुर्खेत फर्कदै थिए ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसारका अनुसार विमानमा सिनियर क्याप्टेन बसन्त लामा, क्याप्टेन अमित गुरुङ, एयर होस्टेज श्रेया श्रेष्ठसहित १३ जना सुरक्षाकर्मी सुर्खेत आउँदै थिए ।

पाइलटसहित विमानमा सवार सबै घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि नेपालगन्ज पठाइएको छ । अरु सबै सामान्य घाइते भएको प्रहरीले बताएको छ । उनीहरुको सिमकोटमै उपचार भइरहेको छ ।

गड्न लागेको विमान विमान धावन मार्गबाट उछिट्टिएर मानव बस्तीमा पुगेको हो । दुर्घटनामा परेको विमानको अगाडिको भागमा पूर्ण रुपमा क्षति पुगेको छ ।

विमान दुर्घटना भए पनि मानविय क्षति भने नभएको विमानस्थल कार्यालयले जनाएको छ । दुर्घटनाग्रस्त विमानबाट इन्धन चुहिरहेको छ । विमान माटोमा परेकाले आगलागीको खतरा नभएको प्रहरीको भनाई छ ।