प्रदेश नम्बर ७ का ४ जिल्ला सहित देशभर ३२ जिल्लामा मतदान हुँदै

धनगढी, १० मंसिर । पहिलो चरण अन्तरगत प्रदेश नम्बर ७ का ४ जिल्लासहित देशभरका ३२ जिल्लामा आज (आईतबार) प्रतिनिधि सभा र प्रदेश सभाका लागि निर्वाचन हुँदैछ ।

यो प्रदेशका ४ वटै जिल्लामा निर्वाचनका लागि आवश्यक सबै तयारी पुरा भएको सम्बन्धित जिल्लाका अधिकारीहरुले बताएका छन् ।मतदान सामाग्रीसहित कर्मचारीहरु मतदान केन्द्रमा पुग्ने, बुथहरु निर्माण गर्ने, आवश्यक सुरक्षा मिलाउने जस्ता सबै तयारी पुरा भएको छ । यहाँका दार्चुला, बैतडी, बझाङ र बाजुरामा आईतबार प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चयनका लागि निर्वाचन हुँदैछ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान कार्यलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरुसंग छलफल समेत गरेको बताए । दार्चुलामा १ सय १० मतदान स्थल र १ सय २९ मतदान केन्द्र निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृत नेपाले जानकारी दिए ।

सुरक्षा चुनौति विश्लेषणका आधारमा तीमध्ये १५ मतदान स्थल अतिसंवेदनशील र १९ संवेदनशील निर्धारण गरेर सुरक्षा प्रबन्ध गरिएको जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । जिल्लाका ९ वटै स्थानीय तहमा नेपाली सेनाको अस्थायी क्याम्प राखी परिचालन गरिएको र सशस्त्र प्रहरीले पनि पस्ती, धुलीगडा र लटिनाथमा अस्थायी वेश क्याम्प राखेर सबै मतदान केन्द्रमा गस्ती गरिरहेको संयोजक गौतमले जानकारी दिए ।

बाजुराका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले निर्वाचन सुरक्षाका लागि जिल्लामा आवश्यक सबै तयारी पुरा भएको बताए ।
’सबै मतदान स्थलमा सुरक्षाकर्मी परिचालन गरिएका छन् । मतदाताले निर्धक्कसंग मतदान गर्न पाउने गरि सुरक्षा प्रबन्ध गरिएको छ ।“ प्रमुख जिल्ला अधिकारी क्षेत्रीले भने, निर्वाचनको सुरक्षामा म्यादी प्रहरी, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना परिचालन गरेका छौं ।“

सुरक्षाकर्मी मतदान स्थलमा खटिनुका साथै मतदाता आउने–जाने बाटोमा अप्रिय घटना नहोस् भनेर नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा पेट्रोलिङ गस्ती गरिरहेका जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहेका क्षेत्रीले बताए । जिल्लामा ३१ मतदान स्थल अतिसंवेदनशील, ३१ मतदान स्थल संवेदनशील र ८ मतदान स्थललाई सुरक्षाका दृष्टिले सामान्यमा मानेर सुरक्षा प्रबन्ध गरिएको उनले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालय बझाङ र बैतडीले पनि निर्वाचनको सबै तयारी पुरा भएको बताएका छन् । सबै मतदान स्थलमा आवश्यक सामाग्रीसहित कर्मचारी पुग्नुका साथै मतदाता लाईनमा लाग्न बुथहरु निर्माण गर्ने काम सकिएको अधिकारीहरुले बताएका छन् ।

निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । अतिसंवेदनशील, संवेदनशील र सामान्य मतदान स्थलको आधारमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र र म्यादी प्रहरी परिचालन गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै सुरक्ष संवेदनशीलतालाई ध्यानमा राखेर दार्चुला र बैतडीमा नेपाल–भारत सीमा नाका बिहीबार रातिदेखि ७२ घण्टाका लागि शील गरिएका छन् । भारतीय सीमा झुलाघाट, जौलजिवी, दत्तु, खलंगाको पुलघाट, तिग्रम र ब्यासको सीतापुल नाकालाई बन्द गरिनुका साथै सीमा क्षेत्रमा सुरक्षा निगरानीसमेत बढाईएको छ ।

बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान समय तोकिएको छ । चुनावका हुन लागेका ३२ जिल्लामा शनिबार राति १२ बजेदेखि आइतबार साँझ ५ बजेसम्म सवारी चलाउन पाइने छैन । निर्वाचन आयोगले मतदान हुने क्षेत्रमा निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।

तीन रङका मतपत्र, चार ठाउ“मा छाप मतदाताले तीन वटा मतपत्रमा चार ठाउँमा स्वस्तिक छाप लगाउनु पर्नेछ । प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि हल्का हरियो रङ्गको मतपत्रमा रहेका चुनाव चिहृन मध्ये एउटामा छाप लगाउनु पर्ने छ ।

प्रदेश सभाका प्रत्यक्ष उम्मदेवारका लागि कालोमसीले छापिएका निर्वाचन चिहृन मध्ये कुनै एकमा स्वस्तिक छाप लगाएर तोकिएको मतपेटिकामा मत खसाल्नु पर्ने छ । समानुपातिकतर्फ एउटै मतपत्र छ ।

तर, त्यहाँ केन्द्र र प्रदेशका लागि दुई टाउँमा छाप लगाउनुपर्ने छ । रातो रङको मतपत्रको माथिल्लो भागमा प्रतिनिधि सभाका लागि र तल्लो भागमा प्रदेश सभाका लागि स्वस्तिक चिन्ह लगाउनु पर्ने छ ।

कुन जिल्लामा कति मतदाता

प्रदेशभरी पुरुष मतदाताको तुलनामा महिला मतदाता संख्या बढी छ । यहाँ ६ लाख ९६ हजार ५ सय ८० पुरुष र ७ लाख ३९ हजार ७७ महिला मतदाता छन् । दार्चुला र बाजुराबाहेक सबै जिल्लामा पुरुषको तुलनामा महिला मतदाताको संख्या बढी छ ।
कैलालीमा २ लाख २३ हजार ५ सय २ पुरुष र २ लाख ३७ हजार ६१ महिला, बझाङमा ५१ हजार २ सय ७१ जना पुरुष र ५३ हजार ३ महिला, अछाममा ६४ हजार ७ सय ७६ पुरुष र ७२ हजार १ सय महिला तथा डोटीमा ४९ हजार १ सय ४३ पुरुष र ५७ हजार ४ सय महिला मतदाता रहेका क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका सुचना अधिकारी रुपसिंह कार्कीले जानकारी दिए ।क्षेत्रीय निर्वाचन कार्यालयको तथ्यांकअनुसार बैतडीमा ६४ हजार ४ सय ६१ पुरुष र ६७ हजार ८ सय ४६ महिला, कञ्चनपुरमा १ लाख २८ हजार ५ सय २२ पुरुष र १ लाख ३६ हजार ४ सय ५० महिला मतदाता छन् ।

बाजुरा र दार्चुलामा भने पुरुषको तुलनामा महिला मतदाताको संख्या केही कम छ । बाजुरामा महिला मतदाता ३४ हजार ६ सय ८५ र पुरुष मतदाता ३५ हजार १ सय ४७ छ । यस्तै दार्चुलामा ३८ हजार ९ सय २८ महिला र ३९ हजार ५ सय ८५ पुरुष मतदाता रहेका छन् ।

बझाङमा १ लाख ४ हजार २ सय ७५, अछाममा १ लाख ३६ हजार ९ सय ३, डोटीमा १ लाख ६ हजार ५ सय ४३, बाजुरामा ६९ हजार ८ सय ३४, बैतडीमा १ लाख ३२ हजार ३ सय १९, कञ्चनपुरमा २ लाख ६४ हजार ९ सय ७३, दार्चुलामा ७८ हजार ५ सय १३ र डडेल्धुरामा ८१ हजार ७ सय ३५ जना मतदाता रहेका क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।

१ लाख ३१ हजार नयाँ मतदाता

यो प्रदेशका ९ जिल्लामा स्थानीय तहको निर्वाचनयता १ लाख ३१ हजार ९ सय ५९ जना नयाँ मतदाता थपिएर मतदाता संख्या १४ लाख ३५ हजार ६ सय ७३ जना पुगेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनपछि प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरि हरेक स्थानीय तहमा संचालन गरेको फोटोसहितको मतदाता नामावली संकलन अभियानका क्रममा नयाँ मतदाता थपिएका हुन् । क्षेत्रीय निर्वाचन कार्यालयको तथ्यांक अनुसार सबै भन्दा बढी कैलालीमा ५७ हजार २ सय ९८ जना नयाँ मतदाता थपिएका छन् । कैलालीमा ४ लाख ६० हजार ५ सय ७८ मतदाताले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने छन् ।

बझाङमा ६ हजार ६ सय ६५, अछाममा ९ हजार १ सय ६१, डोटीमा ५ हजार ६ सय ५६, बाजुरामा ४ हजार ८ सय ८४, बैतडीमा ७ हजार ४ सय ९५, कञ्चनपुरमा २९ हजार २ सय ३८, दार्चुलामा ५ हजार ६ सय ७ र डडेल्धुरामा ५ हजार ९ सय ५५ जना नयाँ मतदाता थपिएका क्षेत्रीय निर्वाचन कार्यालयका सुचना अधिकारी कार्कीले जानकारी दिए । दलहरुले स्थानीय तहमा आफूले पाएको हाराहारीको मत सुरक्षित गर्न सके कतिपय ठाउँमा नयाँ मतदाताको मत निर्णायक हुने छ ।

१६ जना तेस्रो लिंगी मतदाताकैलालीमा ८, बझाङ र कञ्चनपुरमा १÷१ तथा अछाम, बाजुरा, बैतडीमा २÷२ गरि १६ जना तेस्रो लिङ्गी महिला रहेका छन् । प्रदेशभरी १६ निर्वाचन क्षेत्र र ३२ प्रदेशसभा निर्वाचन क्षेत्रबाट ४८ जना प्रतिनिधि चुनिने छन् । पहिलो चरण अन्तरगत बैतडी, दार्चुला, बाजुरा र बझाङमा मंसिर १० गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हुँदैछ । बाँकी जिल्लामा मंसिर २१ गते निर्वाचन हुने छ ।