मैले गरेको काम नै जित्ने आधारः स्वतन्त्र उम्मेदवार गीता राणा

कैलालीको गोदावरी नगरपालिका–८ जोनापुरकी स्थानीय गीता राणा क्षेत्री लामो समयदेखि शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल छिन् । यसैबीच तीन पटक एनप्याबसनको केन्द्रीय अध्यक्ष, हालको केन्द्रीय सल्लाहकार, नेपाल ओलम्पिक कमिटीको पूर्व सदस्य, नेपाल स्वीमिङ एसोशियसन र नेपाल जेम्नेष्टिक संघको केन्द्रीय उपाध्यक्ष रहेकी छिन् । यतिमात्रै नभई, ०६४ सालमा नेपाल लोकतान्त्रिक फोरमको समानुपातिक सभासद समेत भैसकेकी राणा हाल कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यको लागि स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी छिन् । उनीसंग चुनावी गतिविधि तथा चुनावी एजेण्डावारे गरिएको कुराकानीको अश:


चुनावी रणभूमीमा हुनुहुन्छ । निर्वाचन क्षेत्र नम्बर ४ को माहोल कस्तो पाउनु भो ?

निश्चित रुपमा हालको अवस्थामा शोषित पीडित थारु, दलित, मधेशीलगायत जनसमुदाय आफ्नो अधिकारवारे सचेत छन् । स्वतन्त्रता छ, विचार व्यक्त गर्ने तथा मन परेको जनप्रतिनिधि छनौट गर्न पाउँने संविधान प्रदत्त मौलिक अधिकार छ । म पनि आफ्नो एजेण्डासहित मैदानमा छु । चुनावी माहोल मेरो पक्षमा रहेको मैले पाएको छु ।

तपाईको स्वतन्त्र उम्मेदवारी किन ?

मैले स्वतन्त्र उम्मेदवारी दिनुको कारण पार्टीको आस्था, विचार, सिद्धान्तको संरक्षण गर्ने हो । हाम्रो पार्टी नेपाल लोकतान्त्रिक फोरमलाई बहुसंख्याक नेता कार्यकर्ताहरुको विचारलाई लट्याउदै हालको ठूलो पार्टी काँग्रेसमा विलय गराइयो । बिलय गराएपनि आस्था त जिवितै छ नि ? ठूला पार्टीको एजेण्डा भनेको विकास मात्रै हो । तर एजेण्डा भनेको शोषित पीडित वर्ग, समुदायलाई सशक्तिकरण गर्र्र्नु, प्राकृतिक सम्पदाको संरक्षण कसरी गर्ने लगायत रहेको छ । हाम्रो सिद्धान्त, विधि, तरिका फरक छ । हरेक ठाउँमा विकल्प चाहिन्छ, प्रतिष्पर्धा चाहिन्छ । जबसम्म विकल्प नै हुन्दैन तबसमम देश विकासको बाटोमा अगाडी बढ्न सक्दैन । जनताहरु विकल्प पनि पाउन् र प्रतिष्पर्धा पनि होस् भनेर ठूला पार्टीहरुको राजनीतिक सिण्डीकेट तोड्नको लागि पनि मेरो उम्मेदवारी हो ।

क्षेत्र नम्बर ४ बाट उम्मेदवारी किन ?

क्षेत्र नम्बरमा ४ मा धेरै काम गर्न बाँकी छ । सुगम पनि दुर्गम पनि छ । यहाँ स–साना समस्या धेरै छन्, मैले त मजाले बुझेको छु । अन्य दलहरु विकासको ठूला–ठूला आशा मात्रै देखाएर उम्मेदवारी दिएका छन्, मैले त स–साना समस्याको समाधान गर्न यो क्षेत्र रोजेकी छु ।

चुनावी एजेण्डा के–के हुन ?

विकासको एजेण्डा सबै राजनीतिक दलको हो । म चाँहि विकास संग–संगै आमनागरिकलाई सशक्तिकरणमा जोड दिएकी छु । विकासको नाममा हामी धेरै पुल बनाउँछौ तर खोला नाला, रुख, हिमालको संरक्षणमा ध्यान दिदैनौ । मैले त विकासको नाममा विनास नभई हिमाल, पहाड, बोटविरुवा, जंगली जनावरको संरक्षणमा पनि ध्यान दिनुपर्छ भन्दै आएको छु । हाल कैलालीमा कटानको धेरै समस्या छ । कटान नियन्त्रपण गर्ने मेरो प्रतिवद्धता हो । हाल सहरभित्रको वस्तीमा बाटो नभएर दुर्गम जस्तै छ । उक्त दुर्गम वस्तीलाई सुगम बनाउनको लागि पहल गर्ने छु । यहा“ विभिन्न जात जातीको बसोबास छ, तिनिहरुको संस्कृति, संस्कार, धर्मको संरक्षण गर्न पहल गर्ने र अल्पसंख्यक जातीको जिवनस्तर सुधार गर्ने मेरो प्रमुख एजेण्डा भित्र पर्छ ।

जित्ने आधार के–के छन् ?

आमनागरिक सचेत छन् । नागरिकहरु सरल, सक्षम र केहि काम गरेर देखाउने उम्मेदवारलाई रोज्छन् । म त यसै क्षेत्रको विकासको लागि सांसद भएको बेला र नभएको बेला धेरै काम गरेकी छु । यो क्षेत्रको महिलाहरुको सशक्तिकरण गर्नको लागि तालिम, सडक ग्राभेल, दुई वस्ती जोड्ने कल्र्भट निर्माण लगायत जनताले चाहे अनुरुप पहल गरेको छु । मेरो कामको मुल्यांकन गरेर जनताहरुले आफ्नो मत दिनेछन् । मैले गरेको काम मेरो जित्ने आधार हो । मेरो सबै सांसद विकास कोषको बजेट यसै क्षेत्रको विकासमा खर्चेकी छु ।