पूर्ण साक्षर जिल्लामा छ सय बढी बालबालिका विद्यालय बाहिर

सिन्धुपाल्चोक, ४ मंसिर । जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोकले छ सय बढी बालबालिका विद्यालय बाहिर रहेको तथ्यांक सार्वजनिक गरेको छ ।


जिल्ला शिक्षा कार्यालयले आर्थिक वर्ष ०६७ र ०६८ साल देखि सिन्धुपाल्चोकलाई देशैकै पहिलो पूर्ण साक्षर जिल्लाका रुपमा घोषण गरेको थियो ।

पूर्ण साक्षर जिल्ला घोषण भएपनि यहाँका सयौँ बालबालिका अझै विद्यालय बाहिर रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
कार्यालयको तथ्यांक अनुसार ६ सय ४६ जना बालबालिका विद्यालय बाहिर छन् ।

कार्यालयले ५ देखि १४ वर्षसम्मका बालबालिकामा गरेको सर्वेक्षण अनुसार ६ सय ४६ जना बालबालिका विद्यालय बाहिर रहेको जिल्ला शिक्षा कार्यालयका सूचना अधिकारी अशोक पराजुलीले जानकारी दिए ।

सरकारको कमजोर शैक्षिक योजनाका कारण बालबालिकाहरु विद्यालय बाहिर रहेको स्थानीय शिक्षाविद्हरु बताउछन् ।

आर्थिक वर्ष ०६७ र ०६८ देखि सञ्चालित साक्षरता कक्षालाई पुर्णता दिदै तत्कालिन जिल्ला शिक्षा अधिकारी गेहनाथ गौतमले सिन्धुपाल्चोकलाई नेपालकै पहिलो साक्षर जिल्लाको रुपमा घोषण गरेका थिए ।

सामुदायिक विद्यालयको खस्किदो शैक्षिक गुणस्तरका कारण विद्यार्थी संख्या घट्दै जाने र बालबालिका विद्यालय बाहिर हुने गरेको छ । भने कतिपय सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या शून्यमा झरेको छ ।

त्यस्तै शिक्षा कार्यालयले विद्यालय बाहिर रहेको बालबालिकालाई शिक्षा प्रदान गर्ने अभियान सुरु गरेका जनाएको छ ।
‘हामीले संघसंस्थाहरुसँग सहयोग माग गरेका छौँ । उनीहरुबाट सहयोग भएमा विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय फर्काउछौँ– सूचना अधिकृत पराजुलीले भने ।