राजस्थानका महिलालाई आकर्षक लुगा लगाउन र मोबाइल फोन प्रयोग गर्न रोक
एजेन्सी, २ मंसिर । भारतको उत्तर पश्चिमको एउटा गाउँमा यौन शोषणबाट बचाउन महिलालाई आकर्षक लुगाहरु लगाउन र मोबाइल फोन चलाउन बन्देज गरिएको छ ।

गाउँका बुढापाकाका अनुसार विदेशी पहिरण र मोबाइल फोनको प्रयोगले विकृति फैलाइरहेको छ ।
राजस्थानको धोलपुर नजिकैको बलदियापुर गाउँ परिषदले त्यहाँका अभिभावकहरुले आफ्ना छोरीहरुलाई जिन्स पाइन्ट र आधुनिक देखिने विदेशी पहिरनहरु लगााउनबाट रोक्न आदेश दिएको छ । उनीहरुले मोबाइल फोनले गर्दा समाजको संस्कृति बिग्रिदै गएको बताएका छन् ।
यो बन्देज गाउँभरि लागु हुने गाउँ परिषदका सदस्यहरुले दाबी गरेका छन् ।
हिन्दुस्तान टाइम्सका अनुसार मदिरा सेवनमा पनि बन्देज लगााइएको छ । यदि मदिरा सेवन गरिएको पाइएमा रु १ हजार ६ सय जरिवाना लगाइनेछ र यस्ता गतिविधिको जानकारी कसैले दिएमा ८ सय रुपैयाँ ईनाम दिइने कुरा उनीहरुले बताएका छन् ।
उक्त बन्देजको खबरले देशभरिका महिलाको अधिकार र राज्यले उनीहरुलाई गर्ने व्यवहारमाथि बहस चलेको छ ।
गाउँ परिषदका नेता कनासील हरिओम सिंहले भने –‘गाउँ पञ्चायतले सामाजिक विकृतिहरु निर्मूल पार्न राम्रा निर्णयहरु गरेका छन् । महिलाले आकर्षक पोशाक लगाएका कारण बलात्कार र यौन हिंसाका घटनाहरु बढीरहेका छन् ।’
परिषदले गाउँका बुढापाकालाई नियुक्ति गरेर ‘बन्देजको’ कार्यन्वयन गर्न लगाउने छ । प्रत्येक महिनाको पहिलो दिन बैठक बसेर यसबारे छलफल गर्ने छ ।
धोलपुरका सरकारी अधिकारी विनोद कुमार मीनाले मदिरा सेवनको रोकथामलाई गरिएको पहलको प्रशंसा गरे तर महिलाको लुगामाथि लगाइएको बन्देज भने गैर कानूनी भएको बताए ।
स्रोतका अनुसार बन्देजको विरुद्ध अहिलेसम्म कुनै पनि उजुरी नआएको र यदि आयो भने त्यसको कानुनी करवाही गरिनेछ ।
भारतीय फोटोग्राफर सुजाट्रो घोशले यस हप्ता नयाँ किसिमको तस्बिरहरु प्रदर्शन गरेका छन् । ती तस्बिरहरुमा महिलाले गाईको नकाब लगााएका थिए जसको माध्यमबाट उनीहरुको दाँजोमा जनावरहरुको नै बढी अधिकार रहेको सन्देश दिएका थिए ।
साभारः– दि इन्डिपेन्डेन्ट













