‘पर्यटक होईन यही माटोमा हुर्केको धर्ती पुत्र हुँ जित सुनिश्चत छ’

धनगढी, १ मंसिर । वामगठबन्धनबाट एमालेका वैकल्पिक केन्द्रीय सदस्य तथा पूर्वसांसद नारदमुनि राना क्षेत्र नं. ५ बाट प्रतिनीधिसभाको लागि मैदानमा उत्रिएका छन् । राना २०५४ को स्थानीय निकायको चुनावबाट धनगढी नगरपालिकाको निर्वाचित उपप्रमुख हुन् । सोही क्षेत्रबाट नेपाली काँग्रेसको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाको पत्नी आरजु राण, स्वतन्त्रबाट गीता राण, विबेकशील साझा पार्टीबाट दिनेश भण्डारी र थरुहट आन्दोलनको अगुवा लक्ष्मण थारु जेलबाटै प्रतिस्पर्धामा उत्रिएका छन् । यी सबै प्रतिस्पर्धीलाई छलांग मार्दै आफू बहुमत ल्याउने नेता रानाको कुरा बाँकी अंशमा ।

प्रधानमन्त्रीको पत्नीदेखि थरुहट आन्दोलनको अगुवासंग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, कस्तो लागिरहेको छ ?

संयुक्त वाम गठबन्धनको तर्फबाट उम्मेदवार भएकाले चुनाव लड्न कुनै किसिमको अप्ठेरो महसुस भएको छैन । मैले आफूलाई सबै भन्दा हेभीवेट उम्मेदवारको रुपमा हेरिरहेको छु । किनकी मेरो नाता यहि क्षेत्रको माटोसंग गाँसिएकोले जनता मेरो पक्षमा छन्

तपाईको चुनाव जित्ने आधार के हो ?

सबै भन्दा बलियो आधार मेरो उम्मेदवारी पार्टीको भन्दा गठबन्धनको भएकोले म ढुक्क छु । मैले अहिले सम्म आफ्नो प्रतिस्पर्धी कसैलाई देखेको छैन किनकी दुई ठूला पार्टी एकै प्लेटफर्मबाट चुनाव लडिरहेका छौं । हिजो फरक–फरक नामबाट चुनाव लड्दा प्राप्त गरेको उपलब्ध अहिले सँगै लड्दा निश्चित रुपमा दुई गुणा भएको छ । म यहाँको स्थानीय भएकोले सबैले राम्रोसँग चिन्छन, माया गर्छन् । यसैले उहाँहरुको माया र सद्भाव नै मेरो जितको आधार हो । दोस्रो कुरा २०६४ सालमा सामानुपातिक तर्फबाट निर्वाचन क्षेत्रबाट सांसद हुँदा शिवनगर खानेपानी आयोजना, शिव निमावी, मुक्त कमैया शिविरमा एउटा विद्यालय, बेलीको विद्यालयमा भवन निर्माण लगायतको काम गरेकोले मेरो योगदान जनताले भुलेका छैनन् ।

तपाई जितेर गएपछि यस क्षेत्रलाई कसरी सम्बोध गर्नु हुन्छ ?

कैलाली जिल्ला विकासको सम्भावना बोकेको क्षेत्र भए पनि औद्योगिक, पर्यटकीय, कृषि लगायत क्षेत्रको समस्याको पहिचान गर्न नसक्दा जिल्लालाई समृद्धितर्फ अघि बढाउन सकिएको छैन । शुद्ध खानेपानी शिक्षामा देखिएको समस्यालाई सबै भन्दा पहिले सम्बोधन गर्ने प्रतिबधता जनाउछु ।

साथै कैलाली ५ लगायत प्रदेश नम्बर ७ को समृद्धिका लागि नै म खट्नेछु । कैलालीको धनगढी विमानस्थल र गौरिफन्टा नाकाको स्तरोन्नति कृषिलाई आधुनिकीकरण बनाउने, शिक्षा क्षेत्रको विकृति अन्त्य गरी कैलालीलाई शैक्षिक हब बनाउने रणनीतिक योजना तयार गर्नेछु । पर्यटनको प्रवर्द्धन, लोपोन्मुख जातिहरुको सूचीकरण, मुक्त कमैया, मुक्त कम्लरीको पुनःस्थापना गर्ने योजना रहेको छ ।