डमरू सहितको पाटेबाघ हेर्न बर्दियामा स्वदेशी तथा विदेशी पर्यटकहरूको मेला

बर्दिया, १ मंसिर । केहि दिनदेखि बर्दिया राष्ट्रिय निकुञ्जको तिनकुने, किङफिसर र हात्ती मचान क्षेत्रमा डमरू सहितको पाटेबाघ देखिन थालेपछि बाघ हेर्ने विदेशी तथा स्वदेशी पर्यटकहरूको मेला लाग्ने गरेको छ ।

चार वटा डमरू सहितको ५ वटा पाटेबाघको फोटोले निक्कै चर्चा पाएको सोही क्षेत्रमा २ वटा डमरू सहित पाटेबाघ देखिएपछि पर्यटकहरूको घुईचो लागेको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जको हात्ती मचान क्षेत्रमा डमरू सहितको पाटेबाघ देखिएपछि स्वदेशी तथा विदेशी पर्यटकहरूको खुशिको सिमा नै छैन । बर्दिया राष्ट्रिय निकुञ्जको तिनकुने, बालकोनी, किङफिसर र हात्ती मचान क्षेत्रमा डमरू सहित पाटेबाघ हेर्नहरूले भरिएको छ । रोयलबेंगाल प्रजातीको पाटेबाघ हेर्न विहान ७ बजेदेखि साँझ ५ बजेसम्म धैर्यताका साथ धुलो, काँडा र फोहरको वास्तै नगरी नदीको किनारमा रहेका रूखमुनी, बुट्टयानमुनी भुँईमा सुतेर, बसेर खास गरी हात्ती मचान क्षेत्रमा हेर्न सकिन्छ ।

मैले पनि पाटेबाघ खुला आँखाले देखेको छु तर डमरू सहितको पाटेबाघ हेर्न देखिएको धैर्यता पहिलो पटक हात्ती मचान क्षेत्रमा देखे । नेचर गाइडहरू पनि निक्कै खुशि देखे, विदेशी पाहुनाहरूलाई डमरू सहितको पाटेबाघ देखाउन सकेकोमा अनुहारमा उनिहरूको एक किसिमको चमक देखे मैले । नेचर गाइड तिलक बिश्वकर्माले भने “त्यो क्षणको म बयान नै गर्न सक्दिन, २ वटा डमरू सहित पाटेबाघले पानी पिएर गएको केही क्षणमै, बाघले गैडा र उस्को बच्चालाई आक्रमण गर्न थाल्यो, गैंडा आफ्नो बच्चालाई जोगाउँदै नदी किनारमा दौडी रहेको सिन मानौं अहिले पनि आँखाबाट हट्न सकेको छैन ” विदेशीहरूको त कुरै छोडौं जीवन सार्थक भएको उनीहरूको अभिव्यक्ति थियो ।

होटल व्यवसायी समेत रहेका नेचरगाइड शंकर भट्टराईले भने “ म दुई दिन देखि यो हात्ती मचान क्षेत्रमा छु, थुप्रै पर्यटकहरूलाई मैले घुमाई रहेको छु । मलाई लाग्छ, यसपाला आएका विदेशी पर्यटकहरू सन्तुष्ट छन, उनीहरूले हरेक दिन डमरू सहित पाटेबाघ देख्न पाएका छन” । नेपालगञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्ज पुगेका सतिश पाण्डेले जनावर हेर्नका लागि यस्तो भिड र उनीहरूको प्यासेन्स कहिले पनि देखेका थिएनन। उनी यो भिड र बाघ हेर्न दिन भरी भुँईमा सुतेर, कुरेर बस्दाको प्यासेन्स देखेर अचम्मित छन ।

कर्णाली नदीको भँगालो खौराह नदीको नामले चिनिने हात्ती मचान क्षेत्रको नदी किनारको जँगलमा लुकेर, सुतेर बसेकाहरूलाई हेर्दा बाघ हेर्नु भन्दा पनि यो सिन हेर्न मलाई रमाईलो लाग्यो । यसरी डमरू सहित पाटेबाघ देखिनुले नेपाल सरकारले सन २०२२ सम्म नेपालमा रहेको पाटेबाघको संख्या दोब्बर बनाउने लक्ष्यलाई त सहयोग गर्छ नै यहाँका पर्यटन व्यवसायीहरूलाई ठुलो राहत पुग्छ भन्ने कुरालाई मजबुत बनाउने कुरालाई नकार्न सकिन्न ।