ट्रम्पलाई ‘मृत्युदण्ड’ दिने उत्तर कोरियाको घोषणा
काठमाडौँ १ मंसिर । उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मृत्युदण्डको घोषणा गरेको छ । एसिया भ्रमणका क्रममा आफ्ना सर्वोच्च नेता किम जोङ उनको अपमान गरेको भन्दै एक सरकारी पत्रिकाले सो घोषणा गरेको हो ।
वर्कस पार्टीको समाचारपत्र रोदोङ सिनमुनले एक सम्पादकीय लेख्दै ट्रम्प मृत्युदण्डको भागीदार बन्ने उल्लेख गरेको छ । उसले राष्ट्रपति ट्रम्पले माफी दिन नसकिने अपराध गरेको सम्पादकीय दाबी गरिएको छ ।
“ट्रम्पलाई यो कुरा थाहा हुनुपर्छ, उनी मात्र एक जघन्य अपराधी हुन्, जसलाई कोरियाली जनताले मृत्युदण्डको सजाय दिएका छन्” पत्रिकाले आफ्नो सम्पादकीयमा लेखेको छ ।
एसिया भ्रमणकै क्रममा भियतनाम पुगेको बेला राष्ट्रपति ट्रम्पले नेता किम जोङलाई ‘भुन्टे र मोटे’ भनेका थिए । त्यस्तै दक्षिण कोरियाको संसदमा सम्बोधन गर्दै ट्रम्पले किम ‘क्रुर तानाशाह’ भएको टिप्पणी गरेका थिए ।
पत्रिकाको सम्पादकीयमा दक्षिण कोरिया भ्रमणको बेला डिमिलिटराइज्ड जोन भ्रमण गर्ने ट्रम्पको योजना असफल भएको दाबी गरिएको छ ।
खराब मौसमका कारण उक्त भ्रमण रद्द गरिएको भनिएपनि उत्तर कोरियाले “हाम्रा सेनाका चम्किलो नजरको सामना गनुपर्ने कुराले ट्रम्प डराएका थिए” भनेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् ।
उत्तर कोरियाका संचारमाध्यमहरुले सरकारको आधिकारिक धारणा बोल्दै आएका छन् । यो घोषणा पनि सरकारको आधिकारिक धारण भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।













