टुरिष्ट उमेद्वारको आरोप लागेपछि आरजुले किनिन् धनगढीमा तीन करोडको घर

धनगढी, २३ कात्तिक । बिपक्षीहरुले टुरीष्ट उमेद्वारको आरोप लगाईरहेका बेला प्रधानमन्त्री पत्नी तथा कैलाली क्षेत्र नम्बर ५ मा प्रत्यक्ष तर्फ प्रतिनिधि सभाकी उमेद्वार डा। आर्जु राणा देउवाले धनगढीमा नयाँ घर किन्नु भएको छ । दोस्रो चरणको मनोनयन लगत्तै कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा चुनाव प्रचार प्रसारमा होमिएकी राणाले धनगढीमा नयाँ घर किन्नु भएको हो ।
प्रचार प्रसारका क्रममा विपक्षिहरुले पर्यटक उमेदवारको आरोप लगाएपछि त्यसलाई चिर्न आरजुले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडीमा सुविधा सम्पन्न घर किनेको बताईएको छ । धनगढी उपमहानगरपालिका ४ मा तीन कट्ठा तीन धुर क्षेत्रफलमा बनेको दुई तले घरको आरजुले आधा रकम बयाना पनि गरिसक्नुभएको छ । स्थानीय शारदा हमालको नाममा रहेको तीन कट्ठा तीन धुर जग्गा सहित सोही जग्गामा बनेको अत्याधुनीक घर तीन करोडमा किनिएको बताईएको छ ।
हमालले तीन वर्षदेखि घर विक्रिमा राख्नु भएको थियो । आरजु राणा देउवालाई काँग्रेसले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ उमेदवार बनाएको छ । आरजु विरुद्ध बाम गठबन्धनबाट एमालेका बैकल्पिक केन्द्रिय सदस्य नारदमुनी राना चुनाव लडिरहनुभएको छ ।
आरजु राणा देउवालाई प्रचार प्रसारमा जाने वित्तिकै जसले पनि तपाईको घर काठमाण्डौं हो भन्न थालेपछि र विपक्षी बाम गठबन्धनले पनि आरजुलाई पर्यटक उमेदवार भनेर प्रचार प्रसार गर्न थालेपछि उहाँले आफु कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को स्थाई बासिन्दा रहेको प्रमाणित गर्न धनगढीमा घर किनेको अनुमान गरिएको छ । प्रचारप्रसारका क्रममा आरजुले आफ्नो माईतीले कन्यादान गरेर सुदूरपश्चिम दिएकाले आफु सुदूरपश्चिमकी बुहारी भएको बताउदै आउनुभएको थियो ।
आरजुले धेरै चुनावी सभाहरुमा आफुले सुदूरपश्चिमको मौलिक पर्व गौराको वर्त समेत बस्ने गरेको र आफ्नो धेरै काम सुदूरपश्चिममा रहेको प्रष्टिकरण दिदै आईरहनुभएको छ । यद्यपी नेपालको संविधानले प्रतिनिधि सभाका लागि नेपालभरी जुनसुकै स्थानबाट पनि उमेदवारी दिनसक्ने ब्यवस्था गरेको छ । केही दिन अघि बयाना गरेकी आरजु साईत हेरेर बुधबारबाट उक्त घरमा सर्नुभएको छ ।
यद्यपी घर नामसारीको काम भने भएको छैन । घरधनी शारदा हमालले बयाना दिएको तर बैंकको काम हुँदा सम्मका लागि समय मागेकाले पास गर्न केही समय लाग्ने बताउनुभयो । आरजुले धनगढीमा घर किनेको र बुधबारबाटै सरेको थाहा पाएपछि पत्रकारहरु उत्तरबेहडी स्थित उहाँको निवासमा पुगेका थिए ।
नयाँ घरको आँगनमा बसिरहनुभएकी आरजुले भने आफुले धनगढीमा घर किन्ने सोच बनाएको र कुरा मिलेपछि किन्ने प्रतिक्रिया दिनुभएको थियो । धनगढी, २०७० सालको संविधान सभा निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव लडेको क्षेत्र पनि हो ।
२०७० सालको निर्वाचनमा देउवा डडेल्धुरा र तत्कालिन कैलाली निर्वाचन क्षेत्र नम्बर ६ बाट चुनाव लडेर दुबै स्थानबाट जित्नु भएको थियो । टुरिष्ट उमेद्वारको आरोप लागेका बेला किनिएको नयाँ घरले आरजुलाई त्यो आरोपबाट मुक्त गराउने हो वा होईन त्यो भने हेर्न बाँकी छ । दिनेश अनलाईनबाट













