न्यायिक समितीको क्षमता अभिवृद्धि गर्न २ दिने तालिम
कैलाली, २१ कात्तिक । कैलालीका १३ वटै तहका उप प्रमुखहरुको न्यायीक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने कार्यशाला गोष्ठी धनगढीमा शुरु भएको छ । दलित महिला अधिकार मञ्च कैलालीको आयोजनामा सञ्चालन भएको २ दिने कार्यशाला गोष्ठीमा १३ वटा स्थानिय तहका उप प्रमुख तथा न्यायिक समितीका सदस्यको सहभागिता रहेको छ । स्थानीय न्यायीक समितीको क्षमता विकास गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरेको दलित महिला अधिकार मञ्चले जनाएको छ ।
गोष्ठीको उद्घाटन गदै जिल्ला न्यायधिश प्रशुराम भट्टराईले जनतालाई न्याय प्रदान गर्ने सवालमा स्थानीय तहको न्यायीक समितीलाई महत्वपुर्ण जिम्मेवरी थपिएको बताए । उनले न्ययिक समितीका सदस्यहरुले गर्ने काम निकै जिम्मेवारी पुर्ण रहेको बताए ।
स्थानीय जनतालाई न्याय प्रदान गर्ने सवालमा उप प्रमुखहरुले भाषिक तथा संविधानमा उल्लेखित गरेका कुरालाई ख्याल गर्न आवश्यक रहेको भट्टाईको भनाई छ ।
कैलाली जिल्ला बार एसोसिएसनका सचिव हिमालय विष्टले सैवधानिक निकायका रुपमा विकास भएको न्यायिक क्षेत्रले अझै काम गर्न नसकेको बताए । उनले स्थानीय स्वतशासन ऐन २०५५ मा कायम गरिएको नियम हाल स्थानीय तहलाई प्रदान गरिएको बताए ।
उनले स्थानीय तहले पाएको अधिकार जनतालाई दिई खुशी बनाउनु पर्ने भए पनि कार्यान्यन पक्ष निकै चुनौतिपुर्ण रहेको बताए । गौरीगंगा नगरपालिका उप मेयर अञ्चला चौधरीले गोष्ठी १३ वटै स्थानीय तहका न्यायीक समितीको लागी महत्वपुर्ण हुने बताइन् । उनले स्थानीय तहमा न्यायिक मामिला सम्बन्धी धेरै घटना आईरहेपनि कानुन प्रक्रियाका बारेमा जानकारी नहुदा काम गर्न निकै समस्या भएको बताईन् ।













