मनोनयन दर्ताको तयारी पुरा
कैलाली, १५ कात्तिक । यहि मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि भोली हुने उम्मेदवारको मनोनयनपत्र दर्ताको तयारी प्रदेश नम्बर ७ मा पुरा भएको छ ।
प्रतिनिधि सभाका १२ र प्रदेशसभाका २४ सिटका लागि प्रदेश नम्बर ७ का ५ जिल्लामा अगामी मंसिर २१ गते दोस्रो चरणमा हुन गइरहेको चुनावका लागि उम्मेदवार मनोनयन तयारी पुरा भएको हो ।
प्रदेश नम्बर ७ का कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र अछाममा दोस्रो चरण अन्र्तगत मंसिर २१ मा निर्वाचन हुदैछ । उम्मेदवार मनोनयन दर्ताको आवश्यक सम्पुर्ण तयारी पुरा भइसकेको क्षेत्रिय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहन अर्यालले बताए ।
क्षेत्रिय निर्वाचन कार्यालयको समन्वयमा ५ क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दललाई बीहिबार हुने मनोनयन पत्र दर्ताका लागि छुट्टाछुट्टै समय तोकेको बताए ।
राजनीतिक दललाई उम्मेदवार मनोनयन दर्ताको छुट्टा छुट्टै समय दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीले जनाएको छ ।
विवेकशील साँझा पार्टीलाई साढे १२ देखि साढे १ बजे सम्म मनोनयन दर्ता गर्ने समय सीमा तोकेको छ । त्यस्तै नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनलाई साढे १ देखि साढे २ बजे भित्र, नेपाली काँग्रेसलाई साढे २ देखि साढे ३ बजे भित्र, राष्ट्रिय जनमोर्चालाई साढे ३ देखि साढे ४ बजे भित्र मनोनयन दर्ता गर्ने समय तोकेको छ । निर्वाचन कार्यालयबाट उम्मेदवारको मनोनयन दर्ताको समय पाएका राजनीतिक दलहरुले त्यसको तयारी सुरु गरेका छन् ।
कैलालीका ठुला राजनीतिक दलले बाजागाजा र स्थानीय नाँच सहित तामझामका साथ मनोनयन दर्ता गर्ने जनाएका छन् । दलहरुले मनोनयनको तयारी पूरा गरेपनि टिकट वितरणप्रति भने धेरै ठाउँमा असन्तुष्टि देखिएको छ ।













