सरकारी कार्यालयका ५ सय कर्मचारी अनुपस्थित
धनगढी, १५ कात्तिक जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा रहेका कार्यालयहरुको आज छड्के अनुगमन गर्दा करिब ५ सय कर्मचारी अनुपस्थित रहेको पाइएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले धनगढीमा रहेका अधिकांश सरकारी कार्यालयमा कर्मचारीहरु अनुपस्थित रहेको पाइएको बताए । २४ जनाको दरबन्दी रहेको जिल्ला प्राविधिक कार्यालयमा २२ जना कर्मचारी अनुपस्थित रहेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।
त्यस्तै सेती अञ्चल अस्पतालमा ८१ जना कर्मचारीहरु अनुपस्थित रहेको उनले बताए । प्रमुख जिल्ला अधिकारी रिजालले दशैको विदा देखि नै धेरैजसो कर्मचारीहरु कार्यालयमा हाजिर नभएको बताए ।
केही कार्यालय प्रमुखहरु समेत अनुपस्थित रहेको उनले जानकारी दिए । विभिन्न चार समुह बनाई जिल्ला पशु सेवा कार्यालय, कृषि, यातायात, शिक्षा, महिला तथा वालवालिका लगायत सबै सरकारी निकायमा अनुगन गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी रिजालले अनुपस्थित रहेका कर्मचारीहरुलाई कारवाहीका लागि गृह मन्त्रालय मार्फत सम्बन्धित सबै विभागहरुलाई पत्राचार गरिने बताए । उनले जनताको काम नभएको व्यापक जन गुनासो आएपछि सरकारी कार्यालयहरुको अनुगमन गरिएको बताए ।













