इतिहासलाई हेरेर भोट हाल्न डा राणाको आग्रह

कैलाली, १५ कात्तिक । नेपाली काँग्रेसकी नेत्री डा. आरजु राणा देउवाले नेपालको राजनीति धुब्रीकरणतर्फ गइरहेको बेला लोकतन्त्रलाई बलियो बनाउनु नै अहिलेको मुख्य आवश्यकता रहेको बताएकी छिन् ।

नेपाल प्रेस युनियन कैलालीले बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेत्री डा. देउवाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमार्फत लोकतन्त्रलाई संस्थागत गराउन नेपाली काँग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेकी हुन् ।

यसपालिको निर्वाचनमा व्यक्ति, पार्टीभन्दा पनि विचारलाई चयन नगरी मतदान गरिए आउँदो २० वर्षसम्म पनि नेपालमा चुनाव हुन नसक्ने उनको भनाइ छ । उनले लोकतान्त्रिक रुपमा चुनियर आएका नेता कस्तो किसिमका छन्, उनीहरुको इतिहास के छ, त्यो कुरालाई विचार गरेर मात्र भोट हाल्न आग्रह गरिन् ।

सामाजिक विकासअन्तर्गत मुक्त कमैया, दलित आयोग, महिला आयोगलगायत जति पनि ठूला–ठूला निर्णय नेपाली काँग्रेसले गरेको उनले उल्लेख गरिन् ।

नेपाली काँग्रेसबाट कैलाली क्षेत्र नं ५ बाट उम्मेदवार बनेकी नेत्री देउवाले भनिन् अहिले पनि जिल्लामा कतिपय स्थानमा बिजुली बत्ती, बाटोघाटो, पुल, खानेपानीलगायत विकासका आधारभूत पूर्वाधारसमेत रहेका छैनन् । त्यस्ता ठाउँमा विकासको उज्यालो पुर्याउने मेरो प्राथमिकता रहनेछ ।