प्लाष्टिकमुक्त बनाउन कैलारी गापाको दुना टपरी उपयोग नीति 

धनगढी, १२ कात्तिक । बढ्दो प्लाष्टिकलाई न्यूनीकरण गर्न कैलालीको कैलारी गाउँपालिकाले पातको दुना टपरी उपयोग नीति ल्याउने भएको छ ।केहि दशकमै स्मार्ट गाउँपालिका बनाउने परिकल्पनाका साथ अगाडी बढेको उक्त गाउँपालिकाले प्लाष्टिकजन्य वस्तु निरुत्साहित गर्ने उद्देश्यले दुना टपरी उपयोग नीति ल्याउन लागेको अध्यक्ष लाजुराम चौधरीले बताए ।

फोटो क्याप्सन: सालको पातबाट दुना टपरी बनाउँदै कैलारी गाउँपालिकावासी

उक्त नीतिलाई चालू आर्थिक वर्षबाटै कार्यान्वयन गरिने उनको भनाई छ ।‘वातावरणीय प्रदुषणबाट जोगिन तथा गाउँपालिकालाई सफा, स्वच्छ, सुन्दर बनाउने उद्देश्यले यस्तो नीति ल्याएका हौं’, उनले भने–‘चालू आर्थिक वर्षभित्रै आवश्यक उपकरण खरिद र जनशक्ति तयार गर्ने लक्ष्य छ ।

’दुना टपरी बनाउनका लागि सो गाउँपालिकाले चालू आर्थिक वर्षमा केहि बजेट समेत छुट्टयाएको छ । यस वर्ष दुना टपरी बनाउने मशिन खरिद गर्नुका साथै तालिम पनि प्रदान गर्ने लक्ष्य रहेको अध्यक्ष चौधरीले बताए । परम्परागत रुपमा दुना टपरीको प्रयोग हुँदै आएको सो गाउँपालिकामा राज्यस्तरबाटै दुना टपरीलाई प्रोत्साहन गर्नु पर्ने आवाज उठ्दै आएको थियो । सोही मागलाई मध्यनजर गरेर गाउँपालिकाले दुना टपरी उपयोग नीतिलाई अगाडि बढाएको जनाइएको छ ।

उक्त गाउँपालिकाको प्रथम गाउँ सभा अधिवेशनले यो नीतिलाई पारित गरेको छ । भोज, भतेरका लागि प्रयोग हुँदै आएको दुना टपरी बृहत रुपमा उत्पादन गरेर व्यावसायिक प्रयोजनका लागि पनि उपयोगमा ल्याउने गाउँपालिकाले जनाएको छ । होटलहरुमा प्लाष्टिकको सट्टा दुना टपरीको प्रयोगलाई प्रोत्साहन गर्ने अध्यक्ष चौधरीले बताए । उनले दुना टपरीको उत्पादन र बजारीकरणका लागि इच्छुक व्यक्ति, समूह वा कुनै सहकारीलाई जिम्मेवारी दिइने उल्लेख गरे । वनमा पाइने सालको पातबाट दुना टपरी बनाउने गरिएको छ ।

कैलारी गाउँपालिका अन्तर्गत पर्ने बसन्ता वनमा सालको पात प्रशस्त मात्रामा पाइने गर्दछ । दुना टपरीको उपयोग नीति कार्यान्वयनमा आएमा केहि व्यक्तिले रोजगारी प्राप्त गर्नुका साथै केहिको जिविकोपार्जनमा सहयोग पनि पुग्ने बताइएको छ । मशिनबाट बृहत रुपमा दुना टपरी उत्पादन हुन थालेपछि सालको पात खरिद, बिक्री हुने गाउँपालिकाले जनाएको छ ।

यस क्रममा गाउँघरका बृद्धबृद्धाहरुले पात बेचेर आयआर्जन गर्न सक्ने र प्लाष्टिकजन्य वस्तुको प्रयोगबाट बढ्दै गएको प्रदूषण न्यूनीकरणमा टेवा समेत पुग्ने सो गाउँपालिकाले दावी गरेको छ ।  ‘होटलहरुमा प्लाष्टिकको विभिन्न वस्तु प्रयोग भइ जथाभावी फाल्नेक्रम बढ्दो छ’, गाउँपालिका अध्यक्ष चौधरीले भने–‘त्यसैले होटलहरुलाई नै लक्षित गरेर यो कार्यक्रम अगाडि बढाउन लागेका हौं ।

यसले वातावरणीय र आर्थिक रुपमा फाइदा हुने देखिएको छ । ’घरेलु उत्पादनको रुपमा चिनिएको दुना टपरीलाई बढावा दिने लक्ष्यका साथ दुना टपरी उपयोग नीति अगाडि सारेको उनले बताए । पातबाट बनेको दुना टपरीलाई प्रयोग गरि सकेपछि प्राङ्गारिक मल बनाउन सकिने जनाइएको छ । गाउँघरमा परम्परागत रुपमा प्रयोग हुँदै आएको दुना टपरीको फाइदै फाइदा रहेको गाउँपालिकावासीले समेत बताएका छन् । गाउँपालिकाले दुना टपरीको उपयोग नीति अगाडि सारेपछि उनीहरु खुशी भएका छन् ।

‘अहिलेसम्म गाउँघरमा सीमित दुना टपरीको व्यवसायीकरण भएमा गाउँपालिकावासीलाई धेरै फाइदा हुने देखिन्छ’, स्थानीय मनोहर चौधरीले भने–‘गाउँपालिकाले यो कार्यक्रमलाई सकेसम्म यथाशिघ्र कार्यान्वयन गरोस ।’कैलारी गाउँपालिकामा बहुसङ्ख्यक रहेको थारु समुदायमा दुना टपरीको प्रयोग संस्कारकै रुपमा रहि आएको छ । भोज, भतेरको कार्यक्रमदेखि घरमा धेरै सदस्य रहेको परिवारमा भात, तरकारी राख्नका लागि दुना टपरीको प्रयोग हुँदै आएको देखिएको छ ।