मन्त्री भएको एक महिना सेल्फी हान्दै बित्योः मन्त्री शाही

कालिकोट ७ कार्तिक । विनाविभागिय मन्त्री महेन्द्रबहादुर शाहीले आफु उर्जा मन्त्री भएको महिना दिन त सेल्फी हान्दै बितेको बताएका छन् । कालिकोटमा बामगठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शाहीले सो कुरा बताएका हुन् ।

मन्त्री शाहीले आफुले ८३ दिन मात्र उर्जा मन्त्रालय समालेको र त्यसमा पनि ३५ दिन त मन्त्री भएपछि सेल्फी खिच्दै बितेको आफुले बाँकी दिनमा उर्जा मन्त्रालयमा धेरै काम गर्न भ्याएको बताए । ‘करिब ३५ दिन मन्त्री भएपछि नेता कार्यक्रता शुभचिन्तकको बधाई शुभकामना र उनीहरुसँग सेल्फी हान्दै बित्यो ।’ उनले भने,–‘बाँकी रहेका दिनमा मैले उर्जा क्षेत्रमा धेरै काम गरेको छुँ ।’

मन्त्री शाहीले आफु उर्जा मन्त्री भएपछि मोवाइल एप्स तथा अनलाइन सेवा मार्फत ग्राहकहरुको विद्युत महशुल भुक्तानी गर्न सकिने व्यवस्था, विद्युत खरिद विक्री तथा यसको उत्पादन प्रशारण वितरणलाई व्यवस्थित वनाउन व्यवस्थापिका संसदट विधेयक पारित गराई विद्युत नियमन आयोग ऐन तयार गरिए बताए । ‘मन्त्री भएपछि मैले धेरै काम गर्न सफल भएँ ।’ उनले भने,–‘कर्णाली करिडोर अन्तर्गतको ४०० के.भि. प्रसारण लाइनको डि.पि.आर., बिद्युतको केन्द्रिय प्रसारण लाईन नपुगेको कर्णाली अञ्चलमा राष्ट्रिय प्रसारण ग्रीडबाट विद्युत जोड्ने प्रक्रियाको शुरुवात गरेको छुँ ।’

विद्युत उत्पादन कम्पनी मार्फत फुकोट कर्णाली लगायतका आयोजनाहरुको अध्ययन कार्य शुरु गरिएको, राष्ट्रिय प्रसारण लाइनलाई भविष्यमा समेत विद्युत आपुर्ती सहज वनाउन ४०० के.भि. को प्रशारण लाइनको गुरुयोजना तयार गरि आवश्यक काम अगाडी वढाईएको बताए । ‘प्रशासनिक सुधारका कामहरु अगाडी बढाईएको छ ।’ उनले भने,–‘लामो समयबाट रोकिएको कुलेखानी तेस्रो, चमेलिया, त्रिशुली ३ ए तथा ने.वि.प्रा. का सहायक कम्पनीबाट निर्माणाधीन अपर तामाकोशी, रसुवागढी, मध्य भोटेकोशी, सन्जेन जस्ता आयोजनाहरु द्रुत गतिमा अगाडी बढाउने काम भएको छ ।’