‘जमिन र जंगलसंग गाँसिएको पेशा मुस्किलले धान्दैछौ’

धनगढी,  ३० असोज । तिहार नजिकीए संगै माटाको सामग्री बनाउने कुमाले समुदायको व्यस्तता वढेको छ । अरु बेला पुर्खौली पेशा भन्दा अन्य पेशा व्यवसाय गर्दै आएका उनीहरु आजभोलि भने माटो मुछ्ने, चाका घुमाई–घुमाई विभिन्न आकार प्रकारका कलात्मक भाँडाकुडा बनाउनमा व्यस्त भएका हुन् ।

आधुनिकताको क्रम संगै आएको प्लाष्टिक तथा धातुका भाँडाकुडाले परम्परागत पेशाबाट विस्थापित हुँदै गएका उनीहरु विशेषतः आजभोलि तिहारमा चाहिने दियालो बनाउनमै खटिएका छन्् । तिहारमा प्रयोग हुने दियालो माटोकै प्रयोग हुने हँुदा दियालोको माग बढ्दो रहेको उनीहरु बताउँछन् ।

कैलालीको कैलारी गाउँपालिका–६ जमुनीपुरका सीताराम कुमालले तिहार आफुहरुको मुख्य सिजनै भएको बताए । माटोका सामग्री बनाउने, आगोमा पोल्ने र बिक्रि वितरण गर्नमै अधिकांश समय बितिरहेको उनको भनाई छ ।

दशैं र दिपावलीको अवधीमा कैलाली–कञ्चनपुरमा बसोबास भएका कुमालेहरु थारु समुदायको माटोको कुल देवता स्वरुप घोडाघोडी, भेडाको मुर्ती, रक्सी बनाउन प्रयोग हुने डोरिया, पूजाको लागि चाहिने दिउली तथा घोचिया (दियालो) वढी मात्रा बनाउने गर्दछन् । साथै पानी खान प्रयोग हुने करुवा, पानी राख्ने गाँग्रोलगायत सामग्री पनि बनाउँदै आएको बताउँछन् ।

दशैं र दिपावलीको अवधीमा हुने कारोबारबाटै आफुहरुको जिविकोपार्जन हुँदै आएको जमुनीपुरका अर्का कुमाले टीकाराम कुमालले बताए । एक सिजनमा २०÷२५ हजार बराबरको कारोबार हुने गरेको पनि उनले उल्लेख गरे ।

माटाका सामग्री शहर बजारमा नगद खरिद बिक्रि भएपनि ग्रामीण भेगमा भने जिन्सी बस्तुबाट माटोको सामग्री सटासाट हुने गरेको बताइन्छ । सीताराम कुमालका अनुसार चामल, धान, गोहुँलगायत जन्सी बस्तुबाट सटासाट हुने गरेको हो ।

बजारमा आएका प्लाष्टिक तथा धातुका सामग्रीले संकटमा रहेको उनीहरुको पेशा आजभोलि भने, सहज रुपमा माटो नपाइनु र भाँडाकुडा पकाउन दाउरा उपलब्ध नभएपछि थप संकटका भुमरीमा फसेको छ ।

‘हामी विवश भएका छौ, हाम्रो पेशा माटो र जंगलसंग गाँसिएको छ । सहज रुपमा माटो र दाउरा नपाएर आजभोलि बेसर्मा घाँसपात, भुसालगायतले पनि भाँडा पकाउने काम गछौं’, सीताराम कुमाले भने–‘जुन कारण पारिवारिक जिविका धान्न अप्ठेरो भएपछि पेशाबाट विस्थापित हुँदै गएका छौं ।’ माटो र दाउराबाफत चर्को दरमा रोयलटी तिर्नु पर्ने बाध्यता उनले सुनाए ।

परम्परागत पेशाबाट जीवन धान्न अप्ठेरो भएपछि फर्निचरको काम समेत गर्दै आएका सीताराम कुमालले आफ्नो वस्तीका दर्जनौं यूवाहरु भारत समेत पसेको जानकारी दिए ।