तिन वर्षको अवधीमा एक सय ७ बालिका हराए

कैलाली, २७ असोज । कैलाली जिल्लामा तिन वर्षको अवधीमा एक सय ७ बालिका हराएका छन् । हराएको मध्ये ७५ जना मात्र फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार हराएका बालिकाहरुको खोजी कार्य जारी राखेका भएपनि फेला पार्न नसकेको बताएको छ ।

आर्थिक वर्ष २०७२/०७३ मा ४४ जना बालिका हराएकोमा ६ जना बालिका फेला पर्न बाँकी छन् ।

त्यस्तै, आर्थिक वर्ष २०७३/०७४ मा ५५ जना बालिका हराएका थिए । तीमध्ये २१ जना बालिका अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डिएसपी वीरबहादुर बुढामगरले बताए ।

चालू आर्थिक वर्ष २०७४/०७५ को पहिलो तिन महिनामा मात्रै आठ जना बालिका हराएका छन् । तीमध्ये तिन जना मात्र फेला परेको प्रवक्ता बुढामगरले बताए ।

हराएका मध्ये ४९ बालक पनि बेपत्ता

त्यस्तै, २०७२/०७३ मा ५१ जना बालक बेपत्ता भएकोमा ३५ जना मात्र फेला परेका थिए । आर्थिक वर्ष २०७३/०७४ मा हराएका ७० जना बालकमध्ये ४५ जना मात्र फेला परेका थिए ।

चालू आर्थिक वर्षको भदौ महिनासम्म २० जना बालक हराएकोमा १२ जना मात्र फेला परेका डिएसपी बुढामगरले बताए ।

उनले बालिकाहरूलाई उद्धार गरेर ल्याउदा समेत समाजमा पुनस्र्थापना गर्न समस्या हुने गरेको बताए । कतिपय बालिका प्रेम विवाहमा फस्दा परिवारले हराएको भन्दै प्रहरीमा उजुरी दिने गरेका कारण पनि बालिका हराएका घटनाको तथ्यांक बढ्ने गरेको उनले बताए ।

त्यस्तै, अभिभावकहरूले बालबालिका हराउँदा प्रहरीलाई जानकारी दिने, तर फेला परेपछि खबर नगर्ने भएकाले पनि वेपत्ताको तथ्यांकमा कमी नआएको हुनसक्ने उनको भनाई छ ।

समाजमा पुनस्र्थापना हुननसकेका बालिकाहरूलाई प्रहरी पुनस्र्थापना केन्द्र तथा विभिन्न संघसंस्थाद्वारा सञ्चालित केन्द्रमा राख्ने गरेका छन् ।