मुहार फेर्दै कोइलहुवा ताल

कैलालीको कैलारी गाउँ पालिका वडा नम्बर ९ कोईलहीको कोइलहुवा तालमा नेपाली सेनाले १ करोडको लागतमा विभिन्न भौतिक संरचना निर्माण गरेपछि ३ महिनाको अवधीमा ३० हजार पर्यटकले अवलोकन गरेका छन् ।

पहिले माछा पालनमात्र हुदै आएको कोइलहुवा तालमा हाल राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तरगत तालमा विभिन्न भौतिक संरचना निर्माणसंगै ४ वटा बोटिङ डुङ्गा, भ्यु टाउव, प्रतिक्षालय र पिक्नीक स्पट निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको छ ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत पञ्चबर्षिय कार्यक्रमको पहिलो बर्षमा करिब १ करोडको लागतमा उक्त भौतिक संरचना निर्माण गरिएको कोइलहुवा ठुलो ताल संरक्षण समितीका अध्यक्ष सिहीलाल चौधरीले बताए ।

तालको भौतिक तथा वातावरण संरक्षणको जिम्मा पाएको बडैपुर स्थीत नेपाली सेनाको २ नम्बर बाहिनीले ३ महिनामा पहिलो चरण अन्तरगतको १ करोडको काम सकेर ताल ब्यवस्थापन समितीलाई हस्तान्त्रण गरेको थियो । सेनाले पहिलो चरण अन्तरगतको काम सकेर ताल संरक्षण तथा सम्र्वद्धन समितिलाई हस्तान्त्रण गरेको ३ महिना नपुग्दै तालमा बोटिङ तथा पिक्नीक खान आउने पर्यटकबाट मात्र ४५ हजार राजश्व संकलन भएको अध्यक्ष चौधरीले बताए ।

पर्यटकीय रुपमा विकास हुदै गएको तालको प्रचार प्रसारका लागी विभिन्न स्थानमा साईन वोर्ड लगाउने काम भईरहेको अध्यक्षको भनाई छ ।
महेन्द्रराजमार्गबाट करिब ९ किलोमिटर भित्र रहेको उक्त तालमा हाल दैनिक २ सय देखि ५ सय मानिस आउने गरेका छन् । पहिले कोइलहुवा तालमा माछामात्र पाईने भएपनि हाल तालको सौन्दर्यमा नै परिवर्तन आएपछि ताल हेर्न तथा बाटिङ गर्न आउने गरेको पर्यटकहरुको भनाई छ ।

७२ हेक्टरमा फैलिएको कोइलहुवा तालको प्रचार प्रसार गरी आन्तरिक मात्र नभई बाह्य पर्यटक पनि तालमा ल्याउन ब्यवस्थापन समितिले पहल गनुपर्ने स्थानीय यमन चौधरीलले बताए । उनले पहिले माछा मात्र लिन आउने तालमा अहिले दैनिक २ सय देखि ५० सय मानिस आउँदा कोइलही गाउँमा चहलपहल बढेको बताए ।

कोइलवा तालको विकासका लागि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तरगत पाँच बर्षमा ५ करोड रकम खर्च हुने छ । जसले तालको सौन्दर्यतामा अझै निखार ल्याई पर्यटकको संख्यामा वृद्धि हुनुका साथै स्थानीयले रोजगारी पाउने सम्भावना देखिन्छ ।