स्थानीयले पहिरो पन्छाएपछि दुई महिनादेखि अबरुद्ध सडक खुल्यो

कालिकोट । मुगुको सदरमुकाम गमगढीमा २ महिनापछि सवारीका साधन पुगेका छन् । नाग्म–गमगढी सडक बिभिन्न ठाउँमा पहिरो जादाँ अबरुद्ध बनेका सडक शुक्रबार पहिरो पन्छाएपछि खुलेको हो ।
नाग्म–गमगढी सडकखण्डको ९४ किलोमिटर सडकको बिभिन्न ठाउँमा पहिरो गएका कारणले दुई महिनादेखि सडक अबरुद्ध रहेको थियो । सडक अबरुद्ध हुदाँ दैनिक उपभोग्यका बस्तु साथै, मुगुबाट अन्यत्र निर्यात हुने स्याउ ढुवानीमा पनि समस्या भएको थियो ।
नाग्म–गमगढी सडकखण्डको मुगुको झयारीको गएको पहिरो बिहिबार स्थानीयले पन्छाएपछि सडकखण्ड खुलेको मुगुका पत्रकार कविराज कार्कीले बताए । ‘मुगु पुग्ने सडकको बिभिन्न ठाउँमा पहिरो गएको थियो ।’ उनले भने,–‘दुई महिनासम्म अबरुद्ध भएको सडकमध्ये मुगुेको झयारीमा सबैभन्दा ठुलो पहिरो स्थानीयको पहलमा पन्छाएपछि खुलेको हो ।’
दुई महिनासम्म यातायातका साधन नचल्दा खाद्यान्न, दैनिक उपभोग्य बस्तुको अभाव रहेको सडक खुलेपछि सहज बनेको स्थानीय बिश्वराज बुढाले बताए । ‘मुगु सदरमुकाम गमगढीलाई जोड्ने नाग्मा–गमगढी सडक अवरुद्ध हुँदा मुगुमा र हुम्लाका तल्ला क्षेत्रमा खाद्यान्नसहित दैनिक उपभोग्य सामग्रीको अभाव भएको थियो ।’ उनले भने,–‘सडकका ठाउँ–ठाउँमा गएको पहिरोका कारण मुगुका लागि खाद्यान्न र दैनिक उपभोग्य सामग्री बोकेर आएका गाडी बिच बाटोमै रोकिएका थिए । सडक खुलेपछि सहज भएको छ ।’
सडक खुल्दा मुगुबाट स्याउ ढुवानी गर्न पनि सजिलो हुने स्थानीय स्याउ ब्यापारी नारायण रोकायाले बताए । ‘यातायात साधन नचल्दा स्याउ ढुवानी गर्न समस्या भएको थियो ।’ उनले भने,–‘अब भने सहज हुने भएको छ ।’













