तटबन्ध नै मोहनाको धारमा पुगेपछि खेदावासीमा त्रास उस्तै
भदौ । धनगढी उपमहानगरपालिका–१९ खेदामा मोहना नदीको कटान नियन्त्रण गर्न बनाइएको तटबन्ध नै जोखिममा परेपछि स्थानीयहरुमा त्रास कायमै रहेको छ ।
गत आव ०७३/०७४ मा २९ लाख ८८ हजारको लागतमा दुई ठाउँमा तटबन्ध र स्पर बनाइएको थियो । तर उक्त तटबन्ध र स्पर नै मोहना नदीमा आएको बाढीले बगाउने संघारमा पुगेपछि स्थानीय थप त्रासित भएका हुन् ।

फोटो क्याप्सन : मोहनाको कटान नियन्त्रणको लागि बनाइएको तटबन्ध नै बीच धारमा
एक साता अगाडि आएको बाढीसंगै जग्गा कटान गर्दै मोहना नदी बस्ती नजिकिएको छ । जग्गा कटान नरोकिएपछि सुरक्षाका लागि निर्माण गरिएको एउटा स्पर नै बीच नदीमा पुग्ने स्थिति सृजना भएको छ । स्थानीयहरुले तटबन्ध र स्पर गलत ठाउँमा निर्माण गरिदा जग्गा र बस्ती जोगिन नसकेको बताएका छन् ।
स्थानीय मोहन चौधरीका अनुसार साउन २८ गते आएको बाढीसंगै मोहना नदीले धमाधम जग्गा कटान गरेपछि मानववस्ती र नदीबीचको दूरी छोट्टिएको छ । उनले आफ्नो घरबाट करिब ४०÷५० मिटर नजिक नदी आइ पुगेको बताए ।
‘जहाँ कटान थियो त्यहाँ तटबन्ध नबनाई अर्कै ठाउँमा बनाइयो’, चौधरीले भने–‘कटान नियन्त्रण संरचना गलत ठाउँमा परेपछि हाम्रो जग्गा र बस्ती सुरक्षित छैन । स्वयम् तटबन्ध र स्पर नै नदीमा जाने अवस्था आइसकेको छ ।’
करिब दुई दशकदेखि कटान समस्या झेल्दै आएको खेदा गाउँलाई जोगाउनका लागि गत आर्थिक वर्षमा तटबन्ध सहित दुई वटा स्पर जिल्ला समन्वय समिति कैलालीको १४ लाख तथा जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नम्बर ७ को आठ लाख २६ हजार रुपिया खर्चिएर खेदा र फूलबारी गाउँको बीचमा दुई वटा तटबन्ध र स्पर निर्माण गरिएको छ । गत आर्थिक वर्षको जेठमा निर्माण कार्य सम्पन्न भएको उक्त संरचना बनाउनका लागि पाँच लाख ६२ हजार रुपिया स्थानीयले जनश्रमदान गरेका थिए ।
ठूलो रकम खर्चेर बनाइएको तटबन्ध र स्परले पछिल्लो बाढीको क्रममा कटान नियन्त्रण गर्न नसकेको धनीदेवी चौधरीले बताइन् । उनले आफ्नो सात कट्ठा जग्गा कटान भएको सुनाउँदै अहिले तटबन्ध नै नदीमा जाने खतरा बढेको उल्लेख गरिन् ।

कुनै समय नेपाल–भारत सीमा क्षेत्र भएर बग्ने नदी संयौ बिघा जमिन कटान गर्दै अब पूर्ण रुपमा यता आएको छ । करिब दुई दशकको अवधिमा धेरै स्थानीयको उब्जनी योग्य जग्गा कटान भइ नदी पारी गएको छ । नदी कटानकै कारण केहि परिवार जग्गाबिहीन भइसकेका छन् ।
आफ्नो एक बिघा १२ कट्ठा जमिनमा अहिले नदी बग्ने गरेको स्थानीय माघीदेवी थारुले बताइन् । खेती योग्य जमिन नदीमा गएपछि घरबासमात्रै बाँकी रहेको उनको भनाइ छ ।
नदीले जमिनबिहीन बनाएपछि माघीको परिवार धनगढीमा मजदुरी गरेर गुजारा गर्दै आएका छन् । ‘कमाएर खाने खेत छैन । भएको खेत नदीमा गइसक्यो’, माघीदेवीका छोरा रामदासले भने–‘अब त गुजाराको विकल्प मजदुरीमात्रै हो ।’
यो वर्ष साउन मध्यसम्म कटान नहुँदा स्थानीय ढुक्कले बसेका थिए । तर, साउन २८ गतेको बाढीलाई तटबन्ध र स्परले थेग्न सकेन । स्पर बनाइएको माथिल्लो क्षेत्र र स्परभन्दा तल बस्तीतिर धमाधम कटान गरेको छ ।
नदीले सबैभन्दा बढी गाउँतिर नै कटान गरेको स्थानीय प्रेम चौधरीले बताए । उनले एक हप्ताभित्रै धेरै कटान भएको उल्लेख गर्दै गाउँ नै जोखिममा परेको बताए ।
खेदा गाउँमा करिब १६० परिवारको बसोबास रहेको छ । नदीले अधिकां्श परिवारको खेती योग्य जमिन कटान गरेपछि उनीहरु चिन्तित् भएका छन् । नदीका कटानको दीर्घकालिन समाधान गर्ने उपाय नअपनाए खेदाको दक्षिणतिरको बस्ती विस्थापित हुने माघीदेवीको भनाइ छ ।
‘अन्यत्र जग्गा भएका परिवारहरु यहाँबाट उठेर गइसके’, उनले अगाडि भनिन्–‘हाम्रो त कतै जग्गा छैन । यो घडेरी नदीमा गएपछि कता जाने ?’
वडा नम्बर १९ का अध्यक्ष तिलुराम चौधरीले खेदा, ललितपुर लगायतको क्षेत्रमा भएको कटान नियन्त्रण गर्नका लागि पहल गर्ने बताए । उनले आफ्नो पहिलो प्राथमिकता नै आवश्यक ठाउँहरुमा तटबन्ध निर्माण गर्ने रहेको उल्लेख गरे ।













