नेपथ्यले शोक साटेको मेल्बर्नमा यसपाली उत्सव
फरक-फरक उमेर समूह र व्यावसायमा आवद्ध दर्शकहरुको घुइँचो लगाउन सफल कन्सर्टको आयोजना यहाँस्थित ‘यती फुटबल क्लब’ ले गरेको थियो । जसमा’म्याग्दी ओभरसिज’ लेसंयोजनकारी भूमिका निभाएको थियो ।
भर्खरै पढ्नका निम्ति आएका विद्यार्थीदेखि लिएर यहाँ लामो समयदेखि आफ्नो ब्यवसायमा जम्दै आएका व्यापारी अनि फरक-फरक पेसामा आवद्धहरुको त्यो जमघटले परदेस आएर पनि बेग्लाबेग्लै संसारमा हराएका नेपालीहरुवीच भेटघाटको अवसर समेत जुराएको थियो ।
‘महाभुकम्पले नेपाललाई नराम्ररी बिथोलेको भोलिपल्टै मेल्बर्नको मञ्चमा उभिनुपर्दा दुई वर्षअघिको हाम्रो कन्सर्ट साह्रै पीडादायी बन्न पुगेको थियो । आज फेरि यसै सहरमा तपाइहरुका सामुन्ने हामी नेपाल र नेपालीत्वको उत्सवमनाउन उभिँदा असाध्यै सहज महशुस भइरहेको छ,’ नेपथ्यका गायक एवंअगुवा अमृत गुरुङले भने,’जबकि यतिबेला पनि मुलुकका पहाडी र तराइभेगमा वर्षातका कारण बाढी र पहिरोले धेरै गाउँहरुलाई बिथोलेको समाचार आइरहेकै छन् ।’
कन्सर्टकै बीचमा यसरी दर्शकसँग संवाद गरेका गुरुङले मुलुकभित्र र बाहिर रहेका दुवैथरि नेपालीहरुलाई प्राकृतिक प्रकोपले संकटग्रस्त आफ्नो समाजका निम्ति एकजुट हुन आव्हान समेत गरे ।
केहि गीतहरु सुनाइसकेपछि अमृतले बितेको २५ वर्षदेखि नेपथ्यलाई लगातार माया गर्दै आएकोमा दर्शकहरुप्रति आभार प्रकट गरेका थिए ।
‘ब्याण्डले आफ्नो स्थापनाको रजत वर्ष मनाउँदै गर्दा यसमा विभिन्नकालखण्डमा आवद्ध भइ योगदान दिने तमाम संगीतकर्मी साथीहरुलाई म फेरिएकपटक सम्झन र धन्यवाद दिन चाहन्छु,’ अमृतले यति भनेपछि ब्याण्डकै पहिलो गीत सुनाएका थिए-‘आँगनैभरि हिउँनै झरे’ ।
त्यो गीत प्रस्तुत भइरहँदा पृष्ठभूमिमा नेपथ्यको २५ वर्षे यात्रालाई झल्काउने गरी विभिन्न तस्वीरहरू देखाइएको थियो । जसमा सुरुदेखि हालसम्म ब्याण्डमा आवद्ध सम्पूर्ण सदस्य समेटिएको देखिन्थ्यो ।
‘म यी सम्पूर्ण सम्झनाहरु तिनै साथीहरुमा समर्पित गर्न चाहन्छु जसको योगदानले आज ब्याण्ड यस स्थानसम्म आइपुगेको छ,’ अमृतले फेरि पनि सहकर्मीहरुको सम्झना दोहोर्याए ।
कार्यक्रम त्यसपछि निरन्तर अघि बढ्दै नयाँ गीतहरुको प्रस्तुतीमा पुग्यो जसमध्ये थियो ‘शिरफूल शिरैमा’। यो गीत अमृतले पश्चिमी पहाडी भेगरुकुमदेखि बागलुङहुँदै म्याग्दीसम्म पैदलयात्रा गर्दा तयार पारेका थिए ।
यो गीतसँगै अमृतले नेपालको प्राकृतिक सौन्दर्य वर्णन गर्न छुटाएनन् । उनले सदाजस्तै दर्शकहरुलाई मुलुकको भ्रमण गर्न र यसका अथाह सुन्दरताको थप उत्खनन् गर्न आव्हान समेत गरे ।













