मुक्तिको छब्बिस वर्षपछि कमैया परिचयपत्र
कैलाली । कैलालीको भजनी नगरपालिकाले मुक्त कमैयालाई परिचयपत्र वितरण गरेको छ । आफ्नो पालिकाभित्रका मुक्त कमैया कमलरी तथा हलिया पुनर्स्थापना कार्यविधि अनुसार सो पालिकाले छुटमा परेका मुक्त कमैयालाई परिचयपत्र वितरण गरेको हो ।
२०५७ साल साउन २ गते कमैया मुक्तिको घोषणापछि नेपाल सरकारले परिचयपत्र वितरण गरेर मुक्त कमैयाको पुनर्स्थापना अगाडि बढाएको थियो । उतिबेला परिचयपत्र पाउन छुटेका मुक्त कमैया हालसम्म परिचयपत्रविहीन छन् ।
परिचयपत्र पाउनबाट वञ्चित आफ्नो पालिकाका मुक्त कमैयालाई २६ वर्षपछि परिचयपत्र दिएर भजनी नगरपालिकाले उदाहरणीय कार्य गरेको मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले बताउनुभयो । उहाँले २६ वर्षपछि परिचयपत्र पाउँदा छुट मुक्त कमैया निकै खुसी भएको र यो मुलुककै लागि एउटा नमुना कार्य भएको उल्लेख गरे ।
भजनी नगरपालिकामा करिब एक हजार चार सय परिवार मुक्त कमैया रहेकोमा आधाभन्दा बढीले पहिले नै परिचयपत्र पाएका छन् । परिचयपत्र पाएकाको पुनर्स्थापना भइसकेको छ । ७०७ परिवार भने २६ वर्षदेखि परिचयपत्रविहीन रहेको नगरपालिकाले जनाएको छ । परिचयपत्रविहीनमध्ये १ देखि ९ वडासम्मकै ६० परिवारलाई परिचयपत्र वितरण गरिएको प्राविधिक शाखाका इन्जिनियर अजय डगौराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाँकी परिवारलाई वडा कार्यालयमार्फत परिचयपत्र उपलब्ध हुने छ । यसै परिचयपत्रका आधारमा कार्यविधि अनुसार उहाँहरूको पुनर्स्थापनाको कार्य अगाडि बढ्छ ।”
भजनीको मधुवन, सिर्जना बस्ती, गौनहिया, मिलन बस्तीलगायतका बस्तीमा मुक्त कमैयाको बसोबास रहेको छ । प्रदेश सरकारले कार्यविधि बनाइसकेपछि जिल्लाका अन्य पालिकाले पनि कार्यविधि बनाएर मुक्त कमैयालाई पहिचान दिने जनाइएको छ ।













