चप्पलमा आत्मनिर्भरताको बाटो

कैलाली । वैदेशिक रोजगारीबाट फर्केर आफ्नै देशमा केही गर्ने इच्छाशक्ति बोकेकी सञ्जिता रानामगर अहिले विभिन्न डिजाइनका चप्पल उत्पादन गरेर सेवाग्राही आकर्षित गरिरहेकी छन्। कैलालीको धनगढी उपमहानगरपालिका(१४, स्याउले बजारमा बस्दै आएकी उनलाई चप्पल बनाउन भ्याइनभ्याइ छ।

उनी ‘एसआर चप्पल उद्योग’ सञ्चालन गर्दै आएकी छन्, जहाँ विभिन्न डिजाइनका चप्पल उत्पादन हुन्छन्। उद्योग स्थापना गर्नुअघि उनी भारतदेखि मलेसिया र जोर्डनसम्म पुगेर रोजगारीको अनुभव बटुलिन्।

वैदेशिक रोजगारीबाट उनी २०७५ सालमा नेपाल फर्किइन्। त्यसपछि चप्पल बनाउने तालिम लिएर आफ्नै घरमा उद्योग खोलेको बताउँछिन्। दुई वर्षसम्म उनले उद्योग दर्ता नगरी परीक्षण गरिन्। परीक्षणका क्रममा कारोबार ठीकठाक भएपछि २०७७ सालमा उद्योग दर्ता गरेको बताइन्। अहिले उनी आत्मनिर्भर मात्र होइन, अरूलाई प्रत्यक्ष(अप्रत्यक्ष रोजगारीसमेत दिइरहेकी छन्।

सानैमा विवाह, कठिन जीवन

घरको आर्थिक अवस्थाका कारण उनले कक्षा ७ सम्म मात्रै पढ्न पाइन्। १५ वर्षकै उमेरमा छिमेकी गाउँमा विवाह भयो। सानैमा विवाह भएकाले उनको जीवनको भोगाइ कठिनपूर्ण भयो। सामान्य कृषक परिवारमा विवाह भएकाले उनले आर्थिक समस्या पनि निकै झेल्नुपरेको अनुभव सुनाइन्।

पारिवारिक झैझगडा र आर्थिक अभावले उनलाई मानसिक रूपमा कमजोर मात्रै बनाएन, डिप्रेसनको सिकारसमेत बनायो। उनको घरखेत खुटिया नदीको किनारमा रहेकाले बाढीले जग्गा कटान गर्दा थप कठिन परिस्थितिको सामना गर्नुपर्‍यो। उनी भन्छिन्, ‘‘न बस्ने घर रह्यो, न पारिवारिक मेलमिलाप नै, उल्टै ऋणको भारी थपियो।’’

उनका श्रीमान् सन् २०१० मा कतार गए। वैदेशिक रोजगारीबाट कमाएको पैसाले ऋण तिर्ने र घरजग्गा जोड्ने उनको सपना थियो। त्यो सपना पूरा हुनुअघि टुक्रिएको परिवारलाई फेरि जोड्नु थियो। तर, उनले सोचेजस्तो भएन। कतारमा श्रीमानको कमाइ राम्रो नभएपछि श्रीमानलाई घर फर्काउन उल्टै ऋण लिएर पैसा पठाउनुपर्‍यो। बैंकबाट ऋण निकाल्न धितो थिएन। त्यसैले उनले मिटरब्याजमा ऋण लिएर श्रीमानलाई घर ल्याउन पैसा पठाएको बताइन्।

उनी भन्छिन्, ‘‘एक लाख रुपैयाँ ऋण लिएको थिएँ। चार वर्षमा बढेर ६ लाखभन्दा बढी ऋण पुग्यो।’’ त्यो बेला उनका श्रीमान् कुलतमा फसेका कारण बेला(बेला सम्पर्कविहीन भइदिन्थे। यी सबै तनाव झेल्न सकस भएपछि उनी छोरीसहित माइतीमा बस्न थालेको बताउँछिन्।

आफैं कमाउने निर्णय

छोरी हुर्काउन श्रीमान् र घरपरिवारको आशा र भरोसा छोडेर आफैं कमाउने विकल्प रोजिन्। काम खोज्दै उनी भारत पसिन्। लामो समय भारतमा बसिन्। उनी भन्छिन्, ‘‘बीचमा आउने(जाने हुन्थ्यो। भारतको कमाइले एउटा सानो जमिन किनेँ।’’

ऋण तिर्न र घर बनाउन भने बाँकी नै थियो। छोरीलाई दिदीबहिनीको जिम्मा लगाएर उनी तेस्रो मुलुक जाने सोचमा पुगिन्। महिलाहरू पनि काम गर्न विदेश गएको देखेकाले कमाउने साहस जुटाएर विदेश जाने निर्णयमा पुगेको उनी बताउँछिन्।

उनी ९० हजार रुपैयाँ खर्च गरेर मलेसिया गइन्। त्यहाँ ‘मेडिकल ग्लोभ्स’ बनाउने कम्पनीमा उनले प्याकिङको काम गरिन्। दिनमा १२ घण्टा काम गर्नुपर्थ्यो। पैसाको आवश्यकता भएकाले उनी थप समय काम गर्थिन्। १८ घण्टा काम गरे बढी पैसा पाइन्थ्यो। ‘‘१२ घण्टा अनिवार्य थियो, मचाहिँ पैसाको आवश्यकता भएर ओभरटाइम काम गर्थें,’’ उनी भन्छिन्।

मलेसियामा कम्पनी राम्रो परेकाले उनलाई खासै समस्या भएन। त्यहाँ महिनाको करिब ५७ हजार रुपैयाँ तलब र थप समय काम गरेबापत अतिरिक्त १० हजार रुपैयाँ आम्दानी हुन्थ्यो। तीन वर्ष मलेसिया बसेर उनी फर्किइन् र त्यही कमाइले घर बनाइन्। घरजग्गा जोडेपछि उनले कपडा र चप्पल पसल सञ्चालन गरिन्।

ऋण तिर्न अझै बाँकी थियो। घरमै बस्ने आधार बलियो बनाउन अझै मेहनत गर्नुपर्ने ठानेर उनी जोर्डन गइन्। तर, यसपटक उनीसँग गार्मेन्टको सीप थियो। जोर्डनमा उनले कपडामा लगाइएका नम्बर ट्याग हेर्ने र अर्डर भएका कपडा छुट्ट्याएर प्याकिङ गर्ने काम गर्थिन्। त्यहाँ तलब ४० हजार रुपैयाँभन्दा कम थियो। उनी त्यहाँ करिब तीन वर्ष बसेर फर्किइन्।

विदेशबाट फर्किएर उद्यमतिर

नेपाल फर्केर उनले पहिलेको पसललाई नै निरन्तरता दिन थालिन्। यो बेलासम्म उनका श्रीमान समेत सम्पर्कमा आइसकेका थिए। चप्पल बेचेर एक जोरमा १५ रुपैयाँ फाइदा हुन्थ्यो। दैनिक १५ देखि २० जोर चप्पल बिक्री हुन्थ्यो।

सानो लगानीबाट केही नयाँ व्यवसाय गर्ने सोच बनाइन्। त्यही क्रममा उनी संघसंस्थाको पहलमा चप्पल बनाउने तालिममा सहभागी भइन्। चप्पल बनाउने ज्ञान तालिमबाट प्राप्त गरेसँगै उनले डिजाइन सिक्न सामाजिक सञ्जालमा पनि सक्रिय भइन्। उनी नेपालगन्ज, लम्की, अत्तरिया र धनगढीलगायतका चप्पल उद्योगमा पुगेर सल्लाह लिइन् र काम सिक्ने प्रयास गरिन्।

त्यसपछि उनले चप्पल बनाउने एउटा पुरानो मेसिन किनिन्। श्रीमानले पनि उनलाई सघाउन थाले। त्यसपछि उनले ‘एसआर चप्पल उद्योग’ सञ्चालनमा ल्याइन्। आफ्नै उत्पादन पसलमा बेच्न थालेपछि प्रतिजोडी ३० रुपैयाँसम्म फाइदा हुन थालेको उनले बताइन्। सुरुमा उनले दैनिक दुई सय जोर फित्तावाला चप्पल बनाइन्। सिजनमा भने त्योभन्दा बढी उत्पादन हुन्थ्यो। आफैंले बनाएको चप्पल बिक्री गरेर मासिक २७ देखि ३० हजार रुपैयाँसम्म नाफा भएपछि उत्पादन वृद्धि गर्न थप कामदार राखिन्।

सीमापारसम्म चप्पल

आफूले उत्पादन गरेका चप्पल उनी आफ्नै पसलबाट खुद्रा र होलसेलमा बिक्री गर्दै आइरहेकी छन्। उनको गाउँ भारतसँगको सीमाना नजिकै छ। चप्पल बलियो हुने भएकाले सुँडा, ढकियागाउँलगायतका भारतीय गाउँबाट आफन्त भेट्न आउने र परिवार सबैलाई पुग्ने गरी चप्पल किनेर लैजाने गरेको उनी बताउँछिन्।

आसमान नेपाल ९यूएनओमनको साझेदार संस्था० का संयोजक सुर्जन नेपाली संगीतालगायत अन्य महिला उद्यमीहरू यूएनओमन द्वारा सञ्चालित ‘सशक्त महिला, समृद्ध नेपाल’ परियोजनामा आबद्ध भएका छन्। नेपाल सरकारको नेतृत्वमा, युरोपेली संघ ९ईयु० को आर्थिक सहयोग तथा संयुक्त राष्ट्रसंघको संयुक्त पहलमा सञ्चालन भइरहेको यस परियोजनामा तीनै तहका सरकारको सहकार्य छ। उक्त परियोजना सुदूरपश्चिम प्रदेशका १० वटा पालिकामा कार्यान्वयन भइरहेको छ।

परियोजनाका प्रदेश संयोजक नेपालीका अनुसार उद्योग सञ्चालन गर्ने सोचका साथ धेरै महिला विभिन्न तालिममा सहभागी हुन्छन्। तर, बजारीकरण गर्न नसक्दा उद्योग सफल हुन सक्दैनन्। ‘‘त्यसैले हामी उद्यमी महिलालाई तालिम मात्रै दिँदैनौँ, उत्पादन भएको सामग्रीलाई बजारीकरण गर्नमा जोड दिन्छौँ,’’ उनी भन्छन्।

उनका अनुसार महिला उद्यमीले उत्पादन गरेका सामग्री निजी कम्पनीसम्म पुर्‍याउन दुवै पक्षबीच समन्वय गराइन्छ। निजी कम्पनीको मागअनुसार ब्रान्डिङ र प्याकेजिङको सीपसमेत सिकाउने गरिएको नेपालीले बताए। उक्त परियोजना विगत दुई वर्षदेखि सञ्चालनमा छ। परियोजनाको उद्देश्य महिलाको मानसिक तथा सामाजिक सशक्तीकरण, आर्थिक सशक्तीकरण र नीति सबलीकरणमा काम गर्ने रहेको प्रदेश संयोजक नेपालीले बताए।

प्रदर्शनीमा राखिएका स्थानीय उत्पादन।

उनले यही १९ र २० असोजमा प्रदेशस्तरीय कार्यशालामा १० वटा पालिकाका प्रतिपालिका दुई जना उद्यमी महिलालाई सहभागी गराइएको बताए। ‘‘हामीले क्रेता र विक्रेता दुवै पक्षलाई बसाएर बीटुबी मिटिङ राखेका छौँ। साथै उद्यमीका उत्पादनलाई प्रदर्शनीमा पनि राखेका छौँ,’’ उनी भन्छन्।

महिला सशक्तीकरण, लैङ्गिक मूलप्रवाहीकरण तथा समावेशी शासन प्रणालीको पैरवी र प्राविधिक सहयोगमार्फत स्थानीय आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रममा लैङ्गिक उत्तरदायी खरिदसम्बन्धी विषयमा छलफल गरिएको थियो। कार्यक्रममा सुदूरपश्चिम प्रदेशका १० वटै पालिकाका उद्यमीहरू, उद्यम विकास शाखा प्रमुख तथा कर्मचारीहरू र महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरू खरिद गर्न प्रतिबद्ध व्यवसायीहरूको उपस्थिति थियो।

सुत्केरी मसलाको व्यापार

धनगढी उपमहानगरपालिकाद्-४ शिवनगरका महेश्वरी सिंहले चार वर्षदेखि अनलाइनमार्फत ‘सात्भिका भान्छाघर’ सञ्चालनमा ल्याएकी छन्। सुत्केरी मसलाबाट सुरु गरेकोमा अहिले आठ प्रकारको सामान बबिक्री गरिरहेको उनले बताइन्। उनी भन्छिन्, ‘म सुत्केरी हुँदा पाँच किलो सुत्केरी मसला तयार पारेकी थिएँ। मलाई त्यो धेरै भयो, दुई किलो आफ्नो लागि राखेर बाँकी तीन किलो अनलाइनमार्फत बिक्री गरेँ। त्यसपछि बच्चा सानो हुँदासम्म सुत्केरी मसला बनाउँदै बेच्न थालेँ।’

सुत्केरी मसलाको व्यापार फस्टाउन थालेपछि अन्य परिकार पनि बनाउन थालेको उनले बताइन्। उनी घरमै सामान तयार गरेर अनलाइनमार्फत बेच्छिन्। अहिले उनी पोषण लड्डु, लिटो, सातु, रोटीको परिकार, भेज अचार, टिमुरको छोप, चिकेन अचार र मटन अचार बनाएर बिक्री गर्छिन्। घरमै बसेर व्यापार सुरु गरेकी सिंहले अब बजारमा सटर लिएर व्यापारलाई फराकिलो बनाउने सोच बनाएकी छन्।

क्रेताबीच जोडिँदै उद्यमी

बैठकमा सहभागी सनलाइट फाइभ स्टार होटलकी सञ्चालक बसन्ता बमले आफ्नो होटल यही दसैँमा उद्घाटन हुन लागेको बताउँदै भनिन्, ‘‘मैले होटलमा सुदूरपश्चिमको पहिचान झल्किने कला(संस्कृतिसँग जोडिएका सामग्रीको म्युजियम र फोटोसुटका लागि स्टुडियो निर्माण गर्दैछु। त्यससँग मेल खाने सामग्री म राख्छु, मलाई सम्पर्क गर्नुहोला।’’

यस्तै, अपि हिमालयनका सञ्चालक लोकश भट्टले आफूहरू कृषि बीउविजनमा काम गर्ने भएकाले कृषि उद्यमीले उत्पादन गरेका रैथाने बीउ संकलन गर्ने तथा बीउ आवश्यक परेमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। प्रदर्शनीमा विभिन्न किसिमका अचार, पोषणका रोटी, चप्पल, थारू हस्तकला, पातका दुना(टपरी, मह, थारू आलु, हिमाली आलुलगायतका सामग्री राखिएका थिए।

सञ्जिताको यात्रा भने अझै रोकिएको छैन। वैदेशिक रोजगारीका क्रममा भोगेका संघर्ष, ऋणको बोझ र पारिवारिक उतारचढाव पार गर्दै उनी अहिले आफ्नै सीप र मेहनतमा उभिएकी छन्। उनका लागि चप्पल उत्पादन केवल व्यवसाय होइन, लामो समयदेखि बोकेको आत्मनिर्भर बन्ने सपनाको एउटा बलियो आधार बनेको छ। नेपालन्यूजबाट ।https://nepalnews.com/2026/10/09/the-path-to-self-reliance-in-slippers/?fbclid=IwY2xjawU2vONleHRuA2FlbQIxMQBwZG9mBXNydGMGYXBwX2lkEDIyMjAzOTE3ODgyMDA4OTIAAR5zkVHwkLI6AjAzzt5dXvEC6Stp7Gums4tB7Fybu6ItwBat210rwAtAHTQiAg_aem_k7A5e7pYf8e3oB7oVLuTpA